विराटनगर । कोशी प्रदेशका तराईका जिल्लामा जंगली हात्तीको हात्तीको समस्या बढेको छ ।
विशेष गरेर झापा र मोरङमा हात्तीको उपद्रो बढेको हो । सुनसरीमा पनि बेलाबखत तनाव दिइरहेको छ ।
हात्तीको आक्रमणबाट साउनयता मात्रै ७ जनाको मृत्यु भइसकेको छ ।
चालु आर्थिक वर्षको हालसम्म झापामा ५ तथा मोरङ र सुनसरीमा १/१ जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको हो । १० जना घाइते भएका छन् ।
हात्तीले आक्रमण गरेर मोरङमा ४, झापामा ३, सुनसरीमा २ र उदयपुरमा १ जनालाई घाइते बनाएको छ ।
आक्रमणबाट झापामा शुक्रबार मात्रै एकजनाको मृत्यु भएको छ । झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार शिवसताक्षी नगरपालिका– ११ सृष्टि टोलका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको हो । हात्तीले राईको घर पनि भत्काइदिएको एसपी रेग्मीले बताए ।
हात्तीको बथानले साउनयता मात्रै झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराइसकेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार झापामा ५४, मोरङमा १६ र सुनसरीमा ३ गरेर ७३ वटा घरमा क्षति पुर्याएको छ । मोरङमा ८१ र झापामा २ वटा गोठमा क्षति गरेको उनले बताए ।
किसानले ७ बिघा १५ धुर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट गरिसकेको एसपी कँडेलको भनाइ छ ।
हात्तीले हालसम्म ३ वटा जिल्लामा ४८ लाख ७४ हजार रूपैयाँभन्दा बढीको क्षति गरेको उनले बताए ।
उनका अनुसार सबैभन्दा धेरै झापामा ३७ लाख ६८ हजार बढीको क्षति पुर्याएको छ ।
हात्तीले आतंक मच्चाउँदै निरन्तर भौतिक तथा मानवीय क्षति गर्न थालेपछि सर्वसाधारण आतंकित भएका छन् ।
भारतबाट झापा हुँदै नेपाल प्रवेश गरेका हात्ती पूर्वी मोरङ र झापाका जंगलमा बसिरहेका छन् ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले हात्तीले उत्पात मच्चाउँदा सर्वसाधारणमा त्रास बढेको उल्लेख गरे । भारतबाट झापा हुँदै छिरेको २७ वटाजतिको हुल मोरङतिर लागेको र साथमा बच्चा (छावा) पनि रहेको उनको भनाइ छ ।
बच्चा हुर्काउनतिर लागेकाले त्यो हुल हालसम्म नफर्किएको राईले बताए । भने, ‘झापाका जंगलमा पनि झुण्ड–झुण्ड भएर बसेका छन् । एउटा झुण्डमा १० वटासम्म छन् । झापामा मात्रै ३७ देखि ४० वटा हात्ती रहेको अनुमान छ ।’
राईका अनुसार झापामा हात्तीका दुईवटा छावा पनि छन् । भारतबाट छिरेका हात्ती नफर्किएको र पुस अन्तिमसम्ममा फर्किने अनुमान गरिएको उनले बताए ।
झापा छिरेपछि छावा जन्माएको र हात्तीले फर्किन नचाहेको राईको भनाइ छ ।
छावा साथमा भएकाले पनि हात्ती धेरै आक्रमक बनेको हुनसक्ने राई बताउँछन् । उनका अनुसार विगतमा यति धेरै संख्यामा हात्ती नेपाल प्रवेश गरेको जानकारी छैन ।
अहिले झापा, मोरङतिरका जंगलमा हात्तीलाई आहारा (खानेकुरा) पर्याप्त पाइने भएकाले पनि हात्ती नफर्किएको हुन सक्ने उनको भनाइ छ ।
‘जंगलबाट निस्किएर कृषकले लगाएका केरा, मकै, उखुलगायतका बाली खाइरहेका छन्,’ राईले भने, ‘खान पाइरहेको र बच्चा पनि हुर्काउनतिर लागेकाले फर्कने ‘मुड’मा छैनन् ।’ उनका अनुसार ‘रेकी’ गर्दै भारततिर फर्काउने प्रयास भइरहेको छ ।
अहिले खेतबारीमा छिरेर केरा, मकै, उखुलगायतका बाली खाइदिने र नष्ट गर्ने गरिरहेको उनले बताए । राईका अनुसार विशेष गरेर पूर्वी नेपालका जंगलमा मंसिर र पुसमा हात्तीको चहलपहल धेरै हुन्छ ।
साउनयता मात्रै झापामा दुईवटा जंगली हात्ती मृत भेटिइसकेको राईले बताए । नियमितजस्तै देखापर्ने जंगली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भइरहेको जानकारी उनले दिए ।
हात्तीले पूर्व–पश्चिम राजमार्ग नियमित वारपार गरिरहँदा सवारी आवागमन प्रभावित हुने गरेको छ । सडकमा लामो समयसम्म सवारी जाम हुने गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लस्करै हिँड्ने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा मच्चाइरहेको छ ।
जंगल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको उनको भनाइ छ । बच्चा साथमा भएका कारण निक्कै आक्रामक बनेको हात्तीले धेरै क्षति गरिरहेको छ ।
रातदिन नै देखापर्ने हात्तीको बथानलाई स्थानीयको सहयोगमा जंगलतिर धपाउने गरिएको उनले बताए ।
हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्ने गरेको जानकारी दाहालले दिए । उनका अनुसार हात्तीबाट स्थानीयलाई सुरक्षित बनाउन सक्रियता बढाउनुपर्ने भएका कारण प्रहरीको नियमित काममा समेत असर परिरहेको छ ।
यसअघि हात्तीको बथान आएर यति लामो समयसम्म बसेको आफूलाई थाहा नभएको मोरङको कानेपोखरीका जगत ठकुरी बताउँछन् ।
उनका अनुसार जंगलनजिक मकै पोलेर बेच्नेदेखि ससाना पसल राखेर व्यापार गर्नेहरु सबै त्रासमा छन् । हात्तीको त्रासले स्थानीय रातभर सुत्न नपाउने र जागा बस्नुपर्ने अवस्था रहेको ठकुरी बताउँछन् ।
हात्तीले मोरङको बेलबारीमा सबैभन्दा बढी क्षति गरिरहेको छ । बेलबारीको १, २, ३, ४, १० र ११ मा हात्तीले धेरै सताइरहेको हो ।
सुन्दरहरैँचा, कानेपोखरीलगायतका स्थानमा बालीनाली सखाप पारिदिने गरेको स्थानीय बताउँछन् । त्योबाहेक झापाका विभिन्न स्थानमा पनि हात्तीले उपद्रो मच्चाइरहेका छन् ।
भारतबाट नेपाल छिर्दै यति लामो समयसम्म बसेर हात्तीले आतंक मच्चाएको यसअघि थाहा नभएको कानेपोखरी गाउँपालिका–७ का वडाध्यक्ष मोहन अधिकारी बताउँछन् ।
हात्तीले दुःख दिएको गुनासो सर्वसाधारणबाट धेरै आउन थालेको उनले बताए । अधिकारीका अनुसार दिउँसोको समयमा हात्ती प्रायः राजमार्गबाट उत्तरतर्फको जंगलमा बस्छन् ।
साँझ परेपछि खेतबारी छिरेर कृषकले लगाएका बालीनाली खाइदिन्छन् ।
अधिकारीका अनुसार राजमार्गमा हुने हात्तीको दोहोरीलत्ताले सवारी दुर्घटनाको जोखिम पनि बढाएको छ ।
‘हात्ती आवतजावत गर्दा लामो समयसम्म सवारी आवागमन प्रभावित हुने गरेको छ,’ उनले भने, ‘दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्यो ।’ हात्ती र मानवबीचको द्वन्द्व कम गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने अधिकारीले बताए ।
उनका अनुसार पछिल्लो समय हात्ती अटेरी बन्दै गएका छन् । साइरन बजाएर, भाँडाकुँडा ठटाएर, पुल्ठो बालेर र जेसीबी तथा दमकलको प्रयोग गरेर हात्ती भगाउने गरिएको थियो । तर, अहिले हात्तीले टेर्न छाडेको स्थानीय बताउँछन् ।
बेलबारी–१० मा बस्तीमा छिरेका हात्ती खेदाउन पछिल्लो समय ड्रोनको प्रयोग गर्न थालिएको छ ।
मौरीको आवाजसहितको ड्रोन उडाउँदा हात्ती भाग्ने गरेका छन् । बेलबारी नगरपालिकासँगको सहकार्यमा अनिल प्रधान नेतृत्वको टोलीले ड्रोन उडाएर हात्तीलाई धपाइरहेको छ ।
तत्काललाई ड्रोनको प्रभावकारिता देखिएपनि त्यो दीगो नहुने विज्ञहरु बताउँछन् । केही समयदेखि हात्तीले ड्रोनलाई पनि टेर्न छाड्ने उनीहरुको भनाइ छ ।
बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई (डीपी)ले हात्ती धपाउन सुरक्षा निकाय, वन कार्यालय, वन उपभोक्ता समूह र स्थानीय तहले संयुक्त रुपमा काम गरिरहेको बताए ।
उनका अनुसार रातको समयमा बाल्न मिल्ने गरी वन र आवादी क्षेत्रमा बत्ती जडान गरिएको छ ।
हात्ती लखेट्न दमकल र जेसीबीसँगै ड्रोनको प्रयोग गर्न थालिएको राईले बताए ।
वन्यजन्तु विज्ञहरु मानवीय स्वभाव र व्यवहारकै कारण हात्तीको आक्रमण बढेको बताउँछन् ।
हात्ती वस्तीनजिक आएपछि धपाउन ठूलो संख्या स्थानीय भेला भएर होहल्ला गर्ने, आगो बाल्ने तथा विभिन्न भाँडाकुँडा बजाएर हात्तीलाई त्रसित बनाउने काम गर्छन् ।
त्यसले हात्ती आक्रोसित भएर मानिसलाई आक्रमण गर्ने गरेको कोशी टप्पु वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवको भनाइ छ ।
उनका अनुसार विशेष गरेर वर्षमा २ पटक जंगली हात्ती वस्तीमा देखा पर्ने गरेका छन् ।
असार–साउन तथा कात्तिक–मंसिरमा हात्तीको असर बढी देखिने यादवको भनाइ छ । उनका अनुसार यसवर्ष भने पुसको दोस्रो सातासम्म हात्तीले दुःख दिएको छ ।
जंगलमा आहार नपाइँदा खानेकुराको खोजीमा हात्ती वस्तीनजिक र बालीनाली लगाएको स्थानतर्फ आउने उनले बताए बताए ।
‘चिसो बढ्दै गएर जंगलमा आहारा पाउन छाडिएपछि अहिले जंगली हात्ती वस्ती छिरेर क्षति गरिरहेका छन् । कृषकले लगाएको बालीनाली खाइदिन्छन्,’ उनले भने, ‘अर्कोतर्फ हात्ती हिँड्ने परम्परागत बाटो अतिक्रमणको चपेटामा परेको छ ।
जताततै घर, सडक र नहरहरु बनेका छन् ।’ हात्तीले हिँड्न परम्परागत बाटो प्रयोग गर्ने गरेको यादवको भनाइ छ ।
उनका अनुसार मानवीय क्षति कम गर्नका लागि होहल्ला र हात्तीलाई अवरोध पुग्ने काम गर्न हुँदैन ।
आफू हिँडेको बाटोमा कसैले अवरोध गरेमा हात्तीले आक्रमण गर्ने उनले बताए । ‘वस्तीनजिक आएपनि अवरोध नगर्दा हात्तीले मान्छेलाई आक्रमण गर्दैन ।
बालीनाली खाएर आफ्नो बाटो जान्छ,’ यादव भन्छन्, ‘सबै सचेत हुँदा मात्रै मानवीय क्षति कम गर्न सकिन्छ । हात्तीसँगको द्वन्द्व कम गर्न हामीले आफ्नै व्यवहार सुधार्न जरुरी छ ।’
साइरन बजाउँदा र ठुल्ठूला आवाजले तर्साउँदा हात्तीले पनि असुरक्षित महसुस गरी आक्रमण गर्ने यादवको भनाइ छ ।
साथमा बच्चा पनि भएकाले हात्ती लामो समयसम्म पूर्वी नेपालकै वनमा बसेको हुनसक्ने उनले बताए ।
यादवका अनुसार हात्तीबाट भएको क्षतिको अध्ययन गरेर क्षतिपूर्ति दिने गरिन्छ ।
हात्तीको आक्रमणबाट कसैको मृत्यु भएमा परिवारलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई २० हजार रूपैयाँ क्षतिपूर्ति दिने गरिएको उनले बताए । बालीनाली क्षति गरेमा १० हजारसम्म क्षतिपूर्ति दिइने उनको भनाइ छ ।
कोशी प्रदेश सरकारले झापाको बाहुनडाँगीदेखि कोसी टप्पु वन्यजन्तु आरक्षसम्मको उपयुक्त स्थानलाई हात्ती करिडोर क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि ५० लाख बजेटसमेत छुट्याएको छ ।
हात्ती प्रभावित क्षेत्रमा पुगेका बेला मुख्यमन्त्री केदार कार्कीले पर्यटन प्रवद्र्धनका लागि प्रदेशमा हात्ती करिडोर बनाउने बताएका थिए ।
जंगली जनावरको वासस्थान क्षेत्रमा हस्तक्षेप हुन नहुनेमा उनको जोड छ ।
Discussion about this post