झापा । देवी मावि मिनी म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् ।
धुलाबारी मोडबाट मंगलबार शुरु भएको मिनि म्याराथनमा मिक्लाजुङ–३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।
त्यस्तै, भद्रपुर– २की राईले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । उपाधिसँगै लिम्बू र राईले समान २१ हजार नगद, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै, पुरुषतर्फ धावक फिदिम– १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे । शिवसताक्षी–३का समिर कन्दङ्वाले ४० मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
दोस्रो भएका लिम्बूले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएका कन्दङ्वाले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महिलातर्फ बुद्धशान्ति– ५की सरिता दनुवारले निर्धारित दूरी ५८ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै दोस्रो र अर्जुनधारा–११की सिमना जवेगूले निर्धारित दूरी १ घण्टा १ मिनेट १३ सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।
दोस्रो भएकी दनुवारले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएकी जवेगूले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । बिजेताहरुलाई पुस १९ गते विद्यालयमा हुने वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा महिला तथा पुरुष गरी १३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।
बिर्तामोडको देवी माध्यमिक विद्यालयले आफ्नो ६१औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।
Discussion about this post