खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ परेका छन् । तामाङको हत्या र लुटपाट गरी फरार भएका जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका हुन् ।
गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा पुस–३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । स्थानीयको अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन ।
उक्त घटनाको आरोपमा श्रेष्ठ दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बसेकी पवित्रा मङ्सिर–१९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बसेको परिवारका सदस्यले बताएका छन् । भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी शुरु गरिएको थियो ।
पवित्रालाई मङ्सिर–२३ गते १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र शङ्कास्पद अवस्थामा मृत फेला पारिएको थियो । आफन्तको जाहेरीपश्चात अनुसन्धान सुरु गरेको प्रहरीले आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस–११ गते पक्राउ गरेर पुस–१२ गते जिल्ला ल्याइएको जनाइएको छ ।
आरोपित श्रेष्ठले पवित्राको गत मङ्सिर–१९ गते राति नै हत्या गरेको प्रहरीले जनाएको छ । उनले योजनावद्ध तरिकाले पवित्राको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो ।
‘मृतक पवित्राको शव भेटिएकै ठाउँ नजिक रगताम्मे भएको एउटा हम्मर फेला परेको थियो । त्यो हम्मर दीपक आफैँले घरबाट लगेर गएको रहेछन्, मृतकको शव परीक्षण प्रतिवेदनमा समेत टाउकोमा हम्मर वा कुनै गहङ्गो वस्तु प्रहार गरेर हत्या गरिएको भन्ने देखिएको छ ।’
दीपक मङ्सिर–१९ गते दिउँसो श्रीमती सिर्जनाका लागि अनलाइन अडर गरिएको साडी लिन भन्दै घरबाट हिँडेर दिक्तेल आएका थिए । त्यसदिन केही सामान नलिइ दिपक दिक्तेलबाट मुडेतिर गए ।
त्यसपछि उनि घटनास्थल गएको देखिएको डिएसपी खड्काले बताउनुभयो । “पवित्रासँग पहिलेबाटै दिपकको अनैतिक सम्बन्ध रहेछ । सिर्जनालाई विवाह गरेर ल्याइसकेपछि पवित्रासँगको अनैतिक सम्बन्ध खुल्ने डरले र पवित्राको गरहनाको लोभले हत्या गरेको देखिन्छ ।’ उहाँले भन्नुभयो ।
सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
पवित्राको हत्या गरी लुटपाटसमेत गरेका दिपकले कानमा लगाइने रिङ जालपास्थित सहकारीमा ऋण लिनका लागि रु ४० हजारमा धितो राखेको अवस्थामा, फुली दीपकको भाइ डम्बर श्रेष्ठबाट रु चार हजार ५०० मा धितो नै राखेको अवस्थामा र मोबाइल सिर्जनाको बुबा राजबहादुर राई (केपिलासगढी गाउँपालिका–७ सुङ्देल) बाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि मङ्सिर–३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठ दम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौँ महिनाअघि सम्बन्ध बिच्छेद गरेर माइती घर नाखाम फर्किएकी थिइन् ।
उनि तीन छोरी श्रीमानसँग छाडेर कान्छी छोरीसँगै लिएर माइती घर बस्दै आएकी थिइन् । यता पक्राउ परेका दिपक बाँस ढुवानीको काम गर्दै आएका थिए । हाल उनीसँगै पक्राउ परेकी श्रीमती सृजना दिपकको तेस्रो श्रीमती रहेको खुलेको छ । सृजनालाई दिपकले गत असोजमा मात्रै घर भित्र्याएका थिए ।
यो आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
Discussion about this post