विराटनगर । विराटनगरमा सुतिरहेका बेला आगोले जलेर सोमबार राति एक जना महिला गम्भीर घाइते भएकी छन् । विराटनगर महानगरपालिका–७ की ६० वर्षीया लक्ष्मी कामत घाइते भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरको कोठाभित्र बालेको दियोबाट कपडामा आगो सल्किँदा कामत घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । जलेर गम्भीर घाइते भएको अवस्थामा राति ११ः४५ बजेतिर उद्धार गरेर महिलालाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । उपचार सम्भव नहुने भन्दै नर्सिङ होमले थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी गरेको बताइएको छ । घाइते भएकी महिलाको हात, खुट्टालगायत शरीरको ६५ प्रतिशतजति भाग आगोले जलेको जानकारी अस्पतालले गराएको डीएसपी दाहालले बताए । कोठाभित्र लागेको आगो तत्काल नियन्त्रणमा लिइएका कारण थप क्षति नभएको प्रहरीको भनाइ छ ।
Discussion about this post