पाँचथर / जिल्ला प्रशासन कार्यालय पाँचथरले राहदानी बनाउन आउने सेवाग्राहीको निःशुल्क फारम भरिदिन थालेपछि सेवाग्राहीले सहज महसुस गर्न थालेका छन् ।
राहदानी अनलाइन फाराम र राष्ट्रिय परिचय पत्र फाराम भर्न कम्प्युटर इन्स्टिच्युटमा जाँदा व्यवसायीले मनलाग्दी शुल्क लिँदा सेवाग्राहीहरू मारमा पर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयले राहदानी अनलाइन फाराम भर्न निःशुल्क गरेर पाँचथरका नागरिकको मन जित्न सफल भएको फालेलुङ – ६ रामकुमार राईले जानकारी दिए । उनले भने ‘प्रशासनको यो कामले सिङ्गो पाँचथरका नागरिकहरू खुसी छौँ ।’
सेवाग्राहीले राहदानी लिनु पूर्व अनलाइन फाराम अनिवार्य भर्नुपर्ने बाध्यकारी नियम भएकाले उक्त फाराम भर्दा व्यवसायीहरूले सेवाग्राहीसँग मनलाग्दी रूपमा चर्को शुल्क लिँदै आएका थिए । बढी शुल्क लिएको भन्ने जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले कार्यालयमा अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले अनलाइन फाराम भर्ने काम गरेको थिएन ।
राहदानी लिन जाने सेवाग्राहीले बाहिर बजारमा रहेका कम्प्युटर इन्ष्टिच्चुटवाट राहदानी अनलाइन फाराम भरेर मात्रै सिफारिस लिन जिल्ला प्रशासन कार्यालय जाने गर्दथे । बजारमा रहेका कम्प्युटर इन्स्टिच्युटका सञ्चालकहरूले सेवाग्राहीसँग ३ सय देखी ५०० सय रुपैयाँसम्म रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि जिल्ला प्रशासन कार्यालयले फारम भर्ने कार्य आफै सुरु गरेको जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातिले जानकारी दिए ।
इलाममा श्रवणकुमार पोख्रेल प्रमुख जिल्ला अधिकारी हुँदा जिल्लामा यो सेवा सुरु गरिएको थियो । हाल अन्य जिल्लाले समेत निशुल्क फारम भरिदिन थालेका छन् ।
Discussion about this post