विराटनगर । राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोट प्रक्रियामा नेपाल ट्रेड युनियन कांग्रेसले असन्तुष्टि जनाएको छ ।
महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजरअन्दाज गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले संविधानले हरेक वर्ग, क्षेत्र, समुदायको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरेपनि त्यसविपरीत कांग्रेसले उम्मेदवार चयन गरेको उल्लेख गरेका छन् ।
महासचिव राईले पटकपटक अवसर पाएका ब्यक्तित्वलाई दोहोर्याइ तेहर्यााइ राष्ट्रिय सभा जस्तो बौद्धिक वर्गको उपस्थिति रहने स्थानमा अवसर दिनु न्यायसंगत नभएको जनाए ।
उनले भने, ‘हामी समावेशी उम्मेदवार चाहन्थ्यौं । यहाँ श्रम क्षेत्र, श्रमिकको आवाज बोल्ने र सहयोगी हुने ब्यक्तित्वलाई पाखा लगाइएको छ । पार्टीले फेरि एकपटक श्रमिकलाई बेवास्ता गरेको महसुस गरेकाछौं ।’
मुलुकलाई आवश्यक पर्दा हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका ट्रेड युनियनलगायत पेशाकर्मी, बौद्धिक वर्गको राष्ट्रिय सभामा उपस्थिति बञ्चित गराइएको उनले बताए ।
प्रजातन्त्रदेखि गणतन्त्र ल्याउनसम्म अहम भूमिका खेल्ने पक्ष राष्ट्रिय सभाबाहिर राखिनु दुःखद भएको बताउँदै राईले सिंगो पार्टीले अवसर नपाएका श्रमिकलाई स्थान दिन गरेको खराब ब्यवहारप्रति ट्रेड युनियनको गंभीर भएको बताए ।
Discussion about this post