मनोज दाहाल, इटहरी : कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको पौष ३० गते गर्ने भनिएको २३औँ वार्षिक साधारणशभा स्थागित भएको छ । चुनावी साधारणसभाका सम्बन्धमा निर्वाचन समितिले निकालेको निर्वाचन तालिका अनुसार सहकारी ऐन नियम तथा संस्थाको विनियम अनुसार संचालक सदस्यको उमेदवार बन्न योग्य नभएका व्यक्तिले मनोनयन दर्ता गरेको भन्दै प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा उजुरी परेका कारण साधारणशभा स्थगित भएको सहायक मतदान अधिकृत मेघराज लुइटेलले जानकारी दिए ।
अध्यक्षका उमेदवार कृष्ण प्रसाद अधिकारी र लेखा समिति संयोजकका उमेदवार दण्ड बहादुर खड्काले प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा बुझाएको पत्रमा उमेदवारहरुको दावि बिरोध गर्दा समेत छानविन नगरी,दावि ठहर नभई अन्तिम नामावली प्रकाशन गरेको उल्लेख गरिएको छ ।
कार्यालयबाट आएको पत्रका आधारमा सञ्चालक समित,लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समितिको संयुक्त बैठक बसी निर्वाचनको कार्यक्रम अर्को मितिमा घोषणा गर्ने निर्णय निर्वाचन उपसिमितिलाई दिए अनुसार निर्वाचनको कार्यक्रम स्थगित गरिएको सहायक मतदान अधिकृत लुइटेललको भनाइ थियो ।
सस्थापक अध्यक्ष टिका ओझाका अनुसार संस्थाबाट केही उमेदवारले लिएको ऋण हाल सम्म चुक्ता नभएको अवस्थामा भाका नाघेको मिनिमम् किस्ता र व्यज सहित तिर्ने र उमेदवारी दिन पाउने विषयमा सहमति भएको थियो ।
केही उमेदवारले आफुले हार्ने निश्चित देखेपछि छलफलमा भएको सहमति भन्दा बाहिर गएर उजुरी दिएको ओझाको भनाइ छ ।
यता उपाध्यक्षका उमेदवार लोचन पौडेलले आफु सहित संस्थाका १० जना बिभिन्न पदका उमेदवारहरुमा, कसैको ऋण लिएको भाका नाघेको र कसैको नियमित किस्ता नभएका कारण शो बिषयमा छलफल गरि सहमति भइसकेकाले उक्त विषयमा विवाद नभएको उल्लेख गरे । दुइ अध्यक्षको दावि बिरोधकै कारण निर्वाचन स्थगित भएको पौडेलको भनाइ थियो ।
यता अध्यक्षका उमेदवार कृष्णप्रसाद अधिकारीले निर्वाचन निर्देशिका तथा सहकारी ऐनमा भाका नाघेको ऋण भएका,सावाँ तथा व्याज समयमा नै नतिरेका व्यक्तिहरुलाई निर्वाचनमा सहभागि हुन अयोग्य ठहर्छ, भन्ने स्पष्ट उल्लेख भएको बताउदै केही व्यक्तिहरुले उक्त नियम विपरित उमेदवारी दिएको र निर्वाचन अधिकृतले पनि सोही उमेदवारलाई सदर गरेका कारण प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिइएको उल्लेख गरे ।
संस्था कुनै पनि व्यक्तिको हितमा नभइ संस्थागत हितमा नै रहनुपर्ने अधिकारीको भनाइ थियो । आफुले संस्थामा रहेर ३ पटक अध्यक्षको कार्यभार सम्हालिसकेको उल्लेख गर्दै अधिकारीले आफु पुन: अध्यक्ष नबन्ने स्पष्ट पारे । “मैले उमेदवारी फिर्ता लिइसकेँ । मलाई पुन अध्यक्ष बन्ने रहर हैन । तर, संस्था संस्थागत हितमा नै चल्नुपर्छ भन्ने मेरो खवरदारी हो” अधिकारीले भने ।
यता अध्यक्षका अर्का उमेदवार यादव ढकालले इगोको प्रतिशोधका कारण निर्वाचन स्थागित भएको आरोप लगाए । किसानका प्रतिनिधिहरुलाई नेतृत्वमा पुग्न नदिने संस्थापन पक्षको डिजाइनमा निर्वाचन स्थगित भएको ढकालको भनाइ थियो । उमेदवार मध्य केही व्यक्तिहरुको समयमा सावाँ किस्ता नआएको स्विकार गर्दै ढकालले नोमिनेशन हुने अघिल्लो दिनसम्म वा त्यसको भोलिपल्ट दिनको १२ बजे सम्ममा सावाँ र व्याज चुक्ता भएको खण्डमा नोमिनेशन गर्न पाउने सम्भौता भएको उल्लेख गरे ।
प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले निर्वाचन रोक्न नभनेको बताउदै ढकालले हार्ने निश्चित भएपछि अधिकारीले निर्वाचन आयुक्तलाई निर्वाचन रोक्न दवाव दिएको आरोप लगाए । ३० दिन भित्रमा अहिलेको निर्वाचन आयुक्तलाई खारेज गरि अर्को निर्वाचन आयुक्त गठन गर्ने र हाल भएका निर्वाचन प्रकृयाहरुलाई खारेज गरि नयाँ निर्वाचन तालिका बनाएर निर्वाचन गरिने ढकालको भनाई थियो ।
पुर्वकै उदाहरणीय संस्थाका रुपमा स्थापित हुदै गएको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडमा आज भएको घटनालाई अनेपेक्षित मानिएको छ । उदाहरणीय बन्दै गएको सहकारीमा राजनितिकरण हुन थालेको भन्दै सेयर सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । सहकारी लगायतका संघसस्थाहरुलाई राजनितिक दृष्टिकोण भन्दा बाहिर रहेर सञ्चालन गर्नुपर्ने उनीहरुको धारणा छ । कामधेनु दुग्ध सहकारी संस्था लिमिटेडबाट हजारौँ परिवार प्रत्यक्ष लावान्भित रहेका कारण सक्षम नेतृत्व आउनुपर्ने आम सेयर सदस्यहरुको भाव रहेको छ ।
Discussion about this post