इलाम – इलामको माइजोगमाई गाउँपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । माईजोगमाई गाउँपालिका ३ गुप्तीमा रहेको एक ओडारमा शिशुलाई फेला पारिएको हो ।
बिहीबार साँझ बच्चा फेला पारिएको हो । शिशु रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय सडक भन्दा १ किलोमिटर मुनि डुङ्गाको ओडारमा शिशु (छोरा) फेला पारिएको छ । जन्मिएकै करिब ३/४ दिनको जस्तो देखिने
बच्चा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।
शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
स्वास्थ्य अवस्था सामान्य रहे पनि माईजोगमाई गाउँपालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्य परीक्षणका लागि चिकित्सकको टोली आउँदै गरेको स्थानीय पत्रकार रोशन काफ्लेले जानकारी दिए ।
उनका अनुसार एक स्थानीयको घरमा बच्चालाई ल्याएर सेक ताप गरेर राखिएको छ । बच्चालाई कपडा समेत लगाएर नै कसैले राखेको जनाइएको छ ।
नेपाल प्रहरी र स्थानीयले बच्चाको उद्धार गरिसकेको बताइएको छ । बच्चा कसले र किन छोड्यो भन्ने विषयमा खोजी भइरहेको छ ।
Discussion about this post