काठमाडौँ । सत्ता गठबन्धनका सात दलले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफूहरूका साझा १९ जना उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।
सात दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभामा गठबन्धनलाई कमजोर बनाउने विभिन्न गतिविधि हुन सक्ने भन्दै यस्तो अपिल गरेका हुन् ।
‘निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रिय सभा निर्वाचनका क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ। हामी सम्पूर्ण मतदातालाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका देहायबमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपिल गर्दछौं ।’
नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेको उनीहरूको दाबी छ ।
‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्वशर्त हो’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौं ।’
यसरी अपिल गर्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी छन् । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीका सीके राउतको भने हस्ताक्षर छैन ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेसका १०, माओवादीका ६, नेकपा एसका १ र र जसपाको १ गरी साझा १९ उम्मेदवार छन् ।
हेर्नुहोस्, अपिल :
Discussion about this post