विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका- ६ स्थित गछिया खोलामा शुक्रवार बिहान एक जना वृद्ध पुरुषको शव फेला परेको छ ।
भोजपुरको भोजपुर नगरपालिका- २ घर भई सुन्दरहरैँचा- ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
मोरङ प्रहरीमा प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार गुरुङ सब्जी लिन भनेर बिहीबार गछिया बजार गएको खुलेको छ ।
बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खोजी थालेका थिए ।
खोजी गर्ने क्रममा खोलामा डुबेर मृत्यु भएको अवस्थामा बिहान ८ बजेतिर शव फेला परेको जानकारी दाहालले दिए ।
उनका अनुसार सब्जी लिएर घर फर्किने क्रममा चिप्लिएर खोलामा डुबेका वृद्धको त्यही मृत्यु भएको हुनसक्छ ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको दाहालको भनाइ छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post