विराटनगर । मोरङको लेटाङमा तीन जना सवार मोटरसाइकल आइतबार दिउँसो दुर्घटनामा परेको छ ।
लेटाङ नगरपालिका–५ खेरुवामा को १८ प ६२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ ।
लेटाङ बजारबाट तीव्र गतिमा जाँतेतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दिउँसो १ः३० बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार लेटाङ–२ का १८ वर्षीय जेनिस राईको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक लेटाङ–५ का २९ वर्षीय विजय मगर घाइते भएको डिएसपी दाहालले बताए ।
उनका अनुसार मगरलाई पनि थप उपचारका लागि न्युरो अस्पताल ल्याइएको छ ।
प्रहरीका अनुसार दुर्घटना भएका बेला मोटरसाइकलमा तीन जना सवार रहेको पाइएको छ ।
मोटरसाइकलको बिचमा बस्ने युवकको पहिचान नखुलेको र दुर्घटनालगत्तै उनी फरार बनेको प्रहरीको भनाइ छ ।
स्थानीयले दिएको जानकारी अनुसार फरार रहेका व्यक्ति सकुशल छन् ।
उनको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । नियमविपरीत तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको आशङ्का छ ।
Discussion about this post