विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पहिचानको पक्षमा रहेको दोहोर्याएका छन् । यसअघि सार्वजनिक कार्यक्रमहरुमा पहिचानको पक्षमा रहेको बताउँदै आएका उनले आइतबार पहिचानवादी संगठनका प्रतिनिधिहरुसँगको भेटमा आफू पहिचानको पक्षमा भएको सन्देश दिएका हुन् ।
प्रदेशको पुनः नामकरण गरिनुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर संगठनका प्रतिनिधिहरु र उनीबीच कोइराला निवासमा भेटवार्ता भएको थियो ।
‘तपाईँहरूले उठाएको माग र मुद्दामा सहमत छु । म पनि पहिचानको पक्षमा छु । आदिवासी, जनजातिहरुको भाषा, संस्कार, संस्कृति संरक्षणको आन्दोलन पनि सँगसँगै उठाउन अनुरोध गर्दछु’, भेटमा नेता कोइरालाले भने ।
भेटमा सहभागी ‘प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समिति’ का संयोजक डकेन्द्र सिं थेगिमले नेता कोइरालाले आफू पहिचानको पक्षमा रहेको भन्दै पुनः नामकरणका लागि पहल समेत गर्ने उल्लेख गरेको बताए ।
भेटका क्रममा कोइरालाले प्रदेशमा चलिरहेको आन्दोलनको अवस्था, वार्ताका लागि सरकारको पहल जस्ता विषयमा जिज्ञासा राखेका थिए ।
पहिचानको आन्दोलन जायज रहेको भन्दै उनले नामकरणको साथै आफ्नो हक अधिकारको कुराहरू पनि सँगसँगै लानुपर्ने बताएका थिए ।
कोइरालाले प्रदेशको नाम सच्याउन पहल गर्नु प्रतिबद्धता समेत व्यक्त गरेका छन् । प्रदेशको नाम ‘कोशी’ राखिएपछि असन्तुष्ट बनेका पहिचानवादीहरुले पहिचानका आधारमा नामकरण गरिनुपर्ने माग राख्दै आएका छन् ।
कोइरालासँगको भेटमा थेगिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, पहिचानवादी नेताहरू अर्जुन जम्नेली राई, रामभक्त कुरुङवाङ, जनमुक्ति पार्टीका नेता, किरात राई यायोख्खाका प्रतिनिधिहरू सहभागी थिए ।
Discussion about this post