विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष अन्दाजी ५६ वर्षीय जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको ।
राष्ट्रियसभा निर्वाचनका मतदाता रहेका उनी मतदानमा सहभागी हुनुभन्दा अघिल्लै साँझ बिरामी परेका हुन् । राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधबार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका थिए । होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो ।
वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले उद्धार गरेर उनलाई अस्पताल पुर्याएको हो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ ।
नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र अझैसम्म अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । उनका अनुसार अवस्था गम्भीर रहेको जानकारी अस्पतालले दिएको छ ।
उपचारमा संलग्न चिकित्सकले थारुलाई उच्च रक्तचापका कारण समस्या भएको हुनसक्ने अनुमान गरेका छन् । उनको टाउकोमा रगत जमेको र शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने जानकारी अस्पतालले परिवारलाई गराएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ । स्थानीय तहका प्रमुख एवं उपप्रमुख पनि निर्वाचनका मतदाता हुन् । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
ग्रामथान–४ घर भएका थारु नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । कोशी प्रदेशमा अन्य र महिला गरेर दुई सिटका लागि निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवार चुनावी मैदानमा छन् ।
गठबन्धनले अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । एमाले–राप्रपा गठबन्धनबाट अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।
तर, बेहोस भएर उपचाररत अवस्थामा रहेका गाउँपालिका अध्यक्ष थारु मतदानमा सहभागी हुनसक्ने सम्भावना न्यून रहेको कांग्रेसले जनाएको छ । उनको अनुपस्थितिले सत्तारुढ गठबन्धनको मतभार कम हुने देखिन्छ ।
कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ जना मतदाता थिए । कोशीमा प्रदेशसभा सदस्य ९३ जना छन् । प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ । कोशीका १ सय ३७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २ सय ७४ जनाले राष्ट्रियसभा निर्वाचनमा भाग लिन पाउँथे । पालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
कोशीको १० हजार १ सय ३५ कूल मतभारमध्ये प्रदेश र स्थानीय तह गरेर स्वतन्त्रबाहेक सत्तारुढ गठबन्धनसँग ५ हजार ४ सय ३६ तथा एमाले–राप्रपासँग ४ हजार ६ सय ४२ मतभार हुन्छ । तर, गाउँपालिका अध्यक्ष थारु मतदानमा सहभागी हुन नसके सत्तारुढ गठबन्धनको मतभार १९ ले कम हुने देखिन्छ ।
मतदान गर्न कुनै कारणले कोही मतदाता आउन नसकेमा अनुपस्थित भएकै मानिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।
Discussion about this post