विराटनगर । अपराध अनुसन्धानका क्रममा मोरङ प्रहरीको हिरासतमा राखिएका थुनुवालाई खाना खान मिल्ने गरी नयाँ व्यवस्था गरिएको छ ।
थुनुवाले अब ‘डाइनिङ टेबुल’मा बसेर खाना–खाजा खान पाउँछन् । यसअघि हिरासतभित्रै भुइँमा बसेर खानुपर्ने बाध्यता थियो ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले थुनुवालाई लक्षित गरेर हिरासत कक्ष परिसरमा पहिलोपटक ‘डाइनिङ टेबुल’को व्यवस्था गरिदिएका हुन् ।
एसपी पोखरेल आफैंले बुधबार त्यसको उद्घाटन गरेका छन् । उद्घाटनपछि थुनुवाहरुले ‘डाइनिङ टेबुल’मा सामूहिक रूपमा बसेर खाना खाएका थिए ।
हिरासत परिसरमा ‘डाइनिङ टेबुल’ राखिएपछि थुनुवालाई खानपिनका लागि सहज भएको छ । उनीहरुले निक्कै सहज महसुस गर्दै खाना खाएको प्रहरी अधिकारी बताउँछन् ।
यसअघि थुनुवालाई खाना र खाजा खुवाउन समस्या हुन्थ्यो । हिरासतभित्रै खानुपर्ने बाध्यता थियो । हिरासतभित्र खाना पु¥याउनुपर्ने, खाइसकेपछि थाल बटुका बाहिर ल्याउनुपर्ने, खानेकुरा पुर्याउन भिन्दै प्रहरी जनशक्ति खटाउनुपर्ने लगायतका झन्झट हुन्थ्यो ।
अब भने थुनुवाले बाहिर निस्किएर हिरासत परिसरमा रहेको ‘डाइनिङ टेबुल’मा आनन्दले बसेर खानपिन गर्न सक्ने मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
उनका अनुसार थुनुवाको मानवअधिकारको पूर्ण सम्मान गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई व्यवहारमा रूपान्तरण गर्ने अभियानअन्तर्गत हिरासत परिसरमा ‘डाइनिङ टेबुल’को व्यवस्था गरिएको हो ।
थुनुवाहरुलाई मानव अधिकारमैत्री व्यवहार गर्नुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा लागू गर्न नौलो अभ्यास गरिएको दाहालको भनाइ छ ।
हिरासत परिसरमा ‘डाइनिङ टेबुल’ राखिदिएपछि थुनुवाले निक्कै राहत महसुस गरेको उनले बताए । उनका अनुसार ‘डाइनिङ टेबुल’मा एकैपटक ३० जनाले बसेर खाना खान सक्छन् ।
हिरासतमा दैनिक सरदर ३०-३५ जना थुनुवा हुन्छन् । भुइँमा बसेर खानुपर्ने बाध्यता हटेपछि थुनुवाले आत्मसम्मानको महसुस गरेको डीएसपी दाहालको भनाइ छ ।
‘डाइनिङ टेबुल’ले थुनुवालाई सहज हुनुका साथै सेवा प्रवाहलाई पनि सजिलो बनाएको उनले बताए । ‘डाइनिङ टेबुल’सँगै हिरासत परिसरमा धाराको व्यवस्था पनि गरिएको छ ।
डीएसपी दाहाल खाना खाइसकेपछि धारामा हात धोएर थुनुवाहरु हिरासतभित्र छिर्ने र त्यसका लागि प्रहरीले सहजीकरण गरिदिने बताउँछन् ।
प्रहरीले आफ्नै स्रोतबाट ‘डाइनिङ टेबुल’को व्यवस्था गरेको उनको भनाइ छ । उनका अनुसार हिरासतलाई मानवअधिकार मैत्री बनाउन विभिन्न प्रयास भइरहेका छन् । सुविधा सम्पन्न रहेको मोरङ प्रहरीको हिरासत कक्ष महिला र पुरुष गरेर ६० जना क्षमताको छ ।
Discussion about this post