२०७६ मा धरान उपमहानगरको उपनिर्वाचनमा तिलक राई मेयर निर्वाचित भए । उनको विजयसँगै नेपाली काँग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरानको नेतृत्व पायो । धरानलाई एमालेले दाबी गर्दै आएको लाल किल्लालाई पहिलो पटक तोड्दै राईले ऐतिहासिक जीत हासिल गर्न सफल भए । उनै राईसँग समसामयिक विषयमा केन्द्रित रहेर प्रदेश खबरका लागि निशा राईले गरेको कुराकानीको सम्पादित अंश–
अहिले के गर्दै हुनुहुन्छ ?
मेरो अहिले कार्यकारी भूमिका त छैन । तर, पार्टीको जिम्मेवार प्रतिनिधिको रूपमा रहेको छु । निवर्तमान नगर प्रमुखको हैसियतले पुराना कामहरूमा भेटघाट, छलफलमा व्यस्त छु । साथै, म यातायात व्यवसायी भएकोले व्यापार तथा खेलकुद र मेरो पारिवारिक कार्यमा व्यस्त छु ।
जनप्रतिनिधि हुँदा र बाहिर बस्दाको सामाजिक ‘स्ट्याटस’ मा के –कस्तो फरक अनुभव गदै हुनुहुन्छ ?
हाम्रो जस्तो विकासोन्मुख देशमा मानिसहरूको मनोविज्ञान सोच पनि विकास नभइसकेको होला । जो पदीय भूमिकामा छ, उसैतर्फ समाज, राज्य पनि उसैतर्फ आकर्षण हुने रहेछ । तर, वर्तमानमा भन्दा निवर्तमान र पूर्वमा झनै धेरै परिपक्वता हुन्छ र बुझेको हुन्छ । काम र अनुभवले पनि खारिएको हुन्छ, यसलाई समाज र राज्यले बुझ्न जरुरी छ ।
तपाईँको कार्यकालमा भएका तीन वटा गतिला उदाहरणीय काम के हुन ?
म २०७४ को निर्वाचनमा सफल भइन् । तत्कालीन मेयरको देहान्त भएपछि २०७६ को उपनिर्वाचनमा निर्वाचित भएर साढे दुई वर्ष नगरको नेतृत्व लिएँ ।
यस अवधिमा पनि कोभिड १९ को प्रभावले निकै चुनौती पनि थपियो । त्यस अवस्थामा पनि लामो समयदेखि थाँती रहेको बसपार्क निर्माणको कामलाई अघि बढाउन टेन्डर आह्वान गर्यौँ ।
धरानजस्तो सहरी एरियामा फोहरमैलाई व्यवस्थापन चुनौतीपूर्ण छ । यसलाई व्यवस्थापन गरेर प्राकृतिक ग्याँस निकाल्ने काम गरी उद्घाटन गर्यौँ ।
लामो समयदेखि विवाद भए पन धरान नगरवासीको पहिलो प्राथमिकतामा रहेको खानेपानी आयोजना थियो । यसलाई स्थानीय सरकारको मातहतमा ल्याएर खानेपानी आयोजना सुरुवात गरियो । यी तीन कामलाई मैले महत्त्वपूर्ण कामको रूपमा लिएको छु ।
तपाईँको कार्यकालमा भएका, तर वर्तमान जनप्रतिनिधिले निरन्तरता नदिएका कुनै काम छन् ?
धरानमा पश्चिममा सर्दु खोला, पूर्वतर्फ सेउती खोला र बिचमा खहरे खोला छ । त्यसको लागि हामीले सर्दु, सेउती कोरिडोर सुरु गरेको थियौँ । जसमा खहरे कोरिडोर धरान उपमहानगरपालिकाको बजेटबाट सुरु गरिएको थियो ।
खहरे खोलाको कोरिडोरले धनजनको क्षति रोक्न सक्ने र यातायातको चापलाई कम गर्न सक्यो त्यो काम अलिकति बाँकी थियो । त्यो काम भए जस्तो लागेको छैन ।
धरान यातायातको पनि हब हो । पूर्वी पहाडदेखि पश्चिम मधेस एरिया सबैतिर जान धरानमा साना तथा ठुला सवारीहरूको पार्किङ र वर्कसपहरू जताततै रहेका छन् । जसले धरानलाई कुरूप बनाएको छ ।त्यसको विकल्पमा सेउती खोला किनाराको मदन भण्डारी राजमार्गमा करिब ३ बिघा जग्गामा उपमहानगरको बजेटमा घेरावारि गरेर साना, ठुला सबै सवारीहरू र चार्जिङ स्टेसनसमेत राखेर अटो जोन सञ्चालन गरेका थियौँ । सो कामले निरन्तरता पाएको छैन ।
त्यस्तै अर्को महत्त्वपूर्ण कार्य भनेको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहकार्य गर्नुपर्छ भनेर प्रतिष्ठानलाई बजेट छुटाएर अगाडि बढ्ने कार्य भएको थियो । जसमा इटहरी उपमहानगरपालिका, वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र साँगुरीगढी गाउँपालिकासँग छलफल गरी केन्द्रमा प्रस्ताव गएको थियो तर सो कार्य अधूरो छ । भर्खरै थाहा सुन्यौँ कि धरान उपमहानगरपालिका सहकार्यमा शून्य रहेको छ ।
तपाईँले सुरुआत गरेर, वर्तमान जनप्रतिनिधिले निरन्तरता दिएका उल्लेखनीय काम पनि छन् ?
खानेपानी संस्थानको जिम्मा लिएर खानेपानीको आयोजनाको कामलाई निरन्तरता दिइएको छ । त्यो काम महत्त्वपूर्ण कार्य हो । अर्को बसपार्कको काम भएको छ, त्यो केन्द्रको बजेटबाट भइरहेको छ ।
त्यसैगरी सडकको कार्यहरू, जुन बहुवर्षीय आयोजना गरेको थियौँ । बिपी पार्कमा विभिन्न कार्यहरू भएको छ । तर, डीपीआरको रिपोर्ट अनुसारको भने काम भएको छैन । तथापि, अन्य नामहरूले भए पनि विभिन्न कार्यहरिहरूलाई निरन्तरता दिइरहेको पाएको छु ।
देशभरका भ्रष्टाचार काण्डमा स्थानीय तह अगाडि आउँछन् । यसको कारण के हुन सक्छ ?
स्थानीय सरकारले जनताको साना आवश्यकताका कार्यदेखि ठुला–ठुला बजेटका दीर्घकालीन योजनाहरूको कार्यहरूमा काम गर्नुपर्छ । त्यसैले अनुभवको कमीले पनि प्रलोभनमा परेर पनि स्थानीय तहका पदाधिकारीहरू फस्ने गर्छन् ।
यसैगरी, विषय र क्षेत्रको तथा ऐन कानुनको जानकारीको अभावले पनि स्थानीय तहमा भ्रष्टाचार हुन्छ । कतिपय अवस्थामा नियमन, अनुगमन हुन नसक्दा स्थानीय तहमा अलि भ्रष्टाचार भइरहेको हुन्छ ।
स्थानीय तहमा प्रमुख र उपप्रमुखबिच अधिकारको बाँडफाँटमा प्रायः किचलो देखिन्छ । तपाईँको अनुभूति कस्तो छ ?
स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सबैले नगरवासीकै मत लिएर आएका हुन्छन् । स्थानीय तहको सञ्चालन ऐनमा सबै जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकारको व्यवस्था रहेको छ । तर, सबै जनाले अधिकार मात्र खोज्ने होइन, दायित्व पनि बुझ्नुपर्छ । सबै बेग्ला–बेग्लै पार्टीबाट आएको हुन्छौँ ।
सबैको आ–आफ्नो आकाङ्क्षा हुन्छ । तर, एक–अर्काको सम्मान नगर्नले पनि प्रायः टकराब हुन्छ । यद्यपि, सबैलाई मिलाएर लैजानु, मिलेर जानु र सहकार्य गर्नुभन्दा अरू विकल्प छैन ।
समग्रमा देशको राजनीतिको कुरा गर्दा वर्तमान राजनीतिक अवस्था कतातिर गएको पाउनुहुन्छ ?
देश ठिक ट्र्याकमा जानुपर्छ भन्ने हो । तर कता–कता देश अस्थिरतातिर धकेलिएको हो कि भन्ने छ । किनभने हाम्रो देशमा गठबन्धनको सरकार छ । राजनीतिक स्थायित्व भयो भने नै मुलुकको विकास हुने हो । तसर्थ कहीँ न कहीँ राजनीतिक अस्थिरता रहेको छ । राजनीतिक सन्तुलन ठिक ढङ्गले चलेको छैन भन्ने महसुस भएको छ ।
हामीले दिनदिनै अनेक बेथितिहरू सुनिरहेका छौँ । सङ्घीयता कार्यान्वयन भएको छैन । जसले गर्दा आर्थिक भार मात्र भएको छ, काम भने देखिएको छैन । आर्थिक रूपमा पनि देश सही ढङ्गमा छैन । विकास बजेट करिब २० प्रतिशत छ भने चालू बजेट १०० प्रतिशत सकिने अवस्था छ । आर्थिक स्रोत राम्रो छैन, व्यापार घाटामा छ ।
सङ्घीयताका सन्दर्भमा तपाईँको धारणा के छ ?
सङ्घीयता जनताले मागेर, लडेर, रगत, पसिना बगाएर ल्याएको हो । सङ्घीयता आफैँमा राम्रो व्यवस्था हो । तर, जति संविधानले दिएको हक अधिकार छ त्यति नदिएको कारणले सङ्घीयता कार्यान्वयन नहुँदा सङ्घीयताको प्रतिफल देखिएको छैन । अहिले पनि राज्यको कार्यशैली सङ्घ केन्द्रित । सङ्घीयतालाई कार्यान्वयन गर्न चाँडो ऐन, नियम बनाउन र तल्लो तहको सरकारले पनि अध्ययन विज्ञ राखेर अगाडि बढ्नुपर्ने जस्तो लाग्छ ।
देशको समृद्धिका लागि तपाइका सुझाव के के छन् ?
देशको समृद्धिका लागि राजनीतिक स्थायित्व हुनुपर्छ । कुनै पनि सरकार निरन्तर पाँच वर्ष चल्नुपर्छ । आर्थिक अनुशासन हुनुपर्छ । सङ्घीयताको कार्यान्वयन हुन, ऐन, कानुनअनुसार काम हुनुपर्छ ।
स्थानीय सरकारको यो दोस्रो कार्यकाल हो । स्थानीय सरकार र प्रदेश सरकारलाई सङ्घीय सरकारले समय–समयमा प्रशिक्षण दिने, समन्वय कसरी गर्ने भन्ने बारेमा जानकारी दिने र समन्वय गर्ने काम गर्नु पर्छ । सबैभन्दा बढी राजनीतिक स्थिरता हुँदा देशको विकास हुन्छ जस्तो लाग्छ ।
Discussion about this post