ताप्लेजुङ । २५ दिनको नाबालकसहित आइतबारदेखि बेपत्ता आमा मृत भेटिएकी छन् । पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईंको शव तमोर नदी किनारमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुका अनुसार आठराई त्रिवेणी गाउँपालिका(२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।
आठराई त्रिवेणी गाउँपालिका २ फूलबारी चोकपुर उनको माइती घर हो । ‘आइतबार बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी रहिछन्,’ यमुनाका पिता जय भुर्तेलले भने, ‘बेलुका नाङखोल्याङको सेसम्बुमा एकजना आमाले भेटाउनु भएको रहेछ, माइतीघरसम्म आइपुगिनन् ।
उनले बोक्ने मोबाइल र उनले लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।
Discussion about this post