विराटनगर / कोसी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताएका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलो पटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गरे । ‘समाजमा हुने धेरै अपराधमध्ये चोरी एउटा हो । पछौटे समाजमा चोरीको समस्या धेरै हुन्छ,’ उनले भने, ‘जानाजानी योजना बनाएरै गर्ने भएकाले चोरी एउटा वास्तविक अपराध हो । त्यसलाई रोक्न निक्कै चुनौतीपूर्ण छ ।’
डिआइजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक देखिएको उल्लेख गरे । ‘समाजमा बढ्दो चोरी नियन्त्रण र त्यसमा संलग्नलाई कारबाही गर्न मजबुत कानुन आवश्यक छ । कानुन सहज भयो भने चोरी रोक्न सकिँदैन,’ उनी भन्छन्, ‘कुनै व्यक्ति परिस्थितिले चोर हुँदैन । जन्मजात चोर हुन्छ ।’
चोरीलाई ठुलै अपराध मानेर कानुन निर्माण गर्नुपर्नेमा खापुङ सहमत देखिन्छन् । ‘३ वर्षसम्म जेल बसेर निस्किएको व्यक्ति भोलिपल्टै चोरी गर्न पुग्छ । अनुसन्धानका क्रममा सोधपुछ गर्दा चोरीबाहेक मलाई अरू केही गर्नै आउँदैन भन्छ,’ उनले भने, ‘त्यो व्यक्ति परिस्थितिले नभइकन जन्मजात चोर हो । समाजमा चोरीको समस्या विकराल बनेर गयो ।’
कुनै अपराध परिस्थितिजन्य हुने भए पनि चोरी चैँ वास्तविक अपराध रहेको उनको भनाइ छ । कडा कानुन बनाएर कारबाही गर्न सकेमा चोरी नियन्त्रण गर्न सकिने खापुङ बताउँछन् ।
आफ्नो कार्यकालमा प्रहरी ऐनले दिएको जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता उनले जनाए । ‘कानुनले तोकेको जिम्मेवारीमा रहेर काम गर्छु । शान्ति सुरक्षा मजबुत बनाउन मेरो सक्दो प्रयास हुने छ,’ उनले भने, ‘विकास निर्माणलाई शान्ति सुरक्षासँग जोडेर काम गर्ने योजना छ । प्रहरी सेवालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिन्छु ।’ प्रहरी सङ्गठनप्रति आम नागरिकको धेरै भरोसा रहेकाले कुनै पनि गल्ती गर्ने छुट प्रहरीलाई नभएको खापुङको भनाइ छ ।
‘धेरै गरिने गाली र आलोचना प्रहरीप्रतिको आम अपेक्षा हो । त्यसलाई नकारात्मक र अन्यथा लिन हुँदैन । मानवीय कमीकमजोरी सुधार्नुपर्छ,’ उनले भने, ‘सबैले भर गरेको सङ्गठन भएकाले धेरै गाली गरिन्छ । प्रहरीको धेरै आलोचना हुन्छ । प्रहरीले गलत गरेमा खबरदारी र सकारात्मक आलोचना गर्नुपर्छ ।’ नेपाल घुम्न आउने भारतीय पर्यटक तथा पर्यटकीय क्षेत्रको सुरक्षा, लागू औषधलगायतका सीमा पार अपराध नियन्त्रण, अपराध अनुसन्धान र नियन्त्रण, शान्ति सुरक्षा तथा प्रहरीको नियमित कामकारबाहीमा आफू गम्भीर रहेको खापुङले बताए । उनले लागू औषधको समस्या निक्कै विकराल बनेको पनि उल्लेख गरे ।
गम्भीर समस्याका रूपमा देखिएको ‘क्रस बोर्डर क्राइम’लाई रोक्न सुरक्षा योजना बनाएरै काम गरिने जानकारी उनले दिए । साथै, ‘काउन्टर पार्ट’सँग समेत नियमित भेटघाट, छलफल र समन्वय गरिने उनको भनाइ छ । यद्यपि, जनशक्ति कम हुँदा र सीमित स्रोत साधनका कारण प्रहरीलाई कठिनाइ भइरहेको डिआइजी खापुङले स्वीकार गरे । सीमित स्रोत साधनकै कारण प्रहरीले सबै काम गर्न सम्भव नहुने उनको भनाइ छ ।
‘अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षामा प्रहरीले ध्यान दिन्छ । व्यवहारिक हिसाबले सहजीकरण गर्छ । सुरक्षाका दृष्टिले गरिने नियमित चेकजाँचलाई दुःख दिएको रूपमा बुझ्न भएन । कानुन विपरीतका सबै गतिविधि कारबाहीको विषय बन्छन् । तर, प्रहरी अव्यवहारिक बन्दैन,’ उनले भने ।
खापुङ माघ ३ गते प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका हुन् । त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । गृह मन्त्रालयको पुस २४ गतेको निर्णय अनुसार उनले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले कोसी प्रदेशका १४ वटा जिल्लाको सुरक्षा कमान्ड सम्हाल्दै आएको छ ।
Discussion about this post