विराटनगर – मोरङको कानेपोखरीमा टाटा पिकअप गाडीको ठक्करबाट शनिवार राति एक जना महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोक मार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा अन्दाजी ४०-४५ बर्सिया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठले बताए । उनका अनुसार मृतकको पहिचान खुलेको छैन ।
श्रेष्ठले झापाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदल यात्रा गरिरहेकी महिलालाई राति ९ः२० बजेतिर ठक्कर दिएको बताए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
डिएसपी श्रेष्ठले शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको जानकारी दिए । मृतकको पहिचानको प्रयास भइरहेको उनको भनाइ छ ।
पिकअप र चालक सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ का ४५ वर्षीय मिलनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
Discussion about this post