धरान । लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आगामी चैत्र ६ गतेदेखि १० गतेसम्म लिम्बु विद्यार्थीहरुको दोस्रो अन्तराष्ट्रिय महासम्मेलन हुने भएको छ ।
“अस्तित्वको लागि एकता“ भन्ने मूल नाराका साथ लिम्बु विद्यार्थीहरुको दोस्रो अन्तराष्ट्रिय महासम्मेलन लिम्बुवानको विजयपुर धरानमा हुने भएको हो ।
लिम्बु विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महासम्मेलन २०७३ कात्तिक २, ३ र ४ गते दमकमा सम्पन्न भएको थियो । तत्कालीन महासम्मेलनकै निरन्तरताको स्वरुप यो दोस्रो महासम्मेलन आयोजना गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय महासम्मेलनका संयोजक नितेश सिंगकले बताए ।
विश्वमा रहेका लिम्बु विद्यार्थीहरुलाई भावनात्मक रुपमा एकीकृत गर्न र याक्थुङ लिम्बुहरुसँग सम्बन्धित विभिन्न पक्षहरुमा बृहत छलफल गरी समुदायलाई एकतावद्ध गर्ने दोस्रो महासम्मेलनको प्रमुख उद्देश्य रहेको संयोजक सिंगकले बताए ।
महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स लगायत विश्वको विभिन्न १७ देश र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने आयोजकले जनाएको छ । एक सय जना सभासदस्यहरु अन्तराष्ट्रिय सभामा सहभागी हुनेछन् ।
लिवि मञ्च स्थापना भएको २५ औं वर्षगाठ पूरा भएको युप्पा तड्वे (रजत जयन्ती) को अवसर पारेर आगामी चैत्र ६ गते केलाङ, येवालाङ, माडलाङ र याःलाङ प्रदर्शन गर्दै विशाल र्याली सहित सम्मेलनको उदघाटन समारोह गरिने आयोजकले जनाएको छ । साथै चैत्र ७ र ८ गते दुई दिन अन्तराष्ट्रिय सभा हुनेछ ।
सभामा लिम्बु भाषाको ईतिहास र लिपिको विकासक्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्क्रम निर्माण र विकासक्रम, किरात धर्म र सस्कार सँस्कृति, समुदायमा युमा धर्म र दर्शनको प्रभाव, लिम्बुवानको किपट व्यवस्था, लगायत विभिन्न २२ वटा भन्दा बढी विषयहरुबारे कार्यपत्र प्रस्तुत हुने र त्यसबारे बृहत रुपमा छलफल हुने संयोजक नितेश सिंगकले बताए ।
चैत्र ९ गते सम्मान तथा धन्यवाद सहित तरेचा कार्यक्रम हुनेछ भने चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
Discussion about this post