धरान- लाहुरेको सहरका रूपमा परिचित धरानमा गोर्खाली सैनिकले लडेको ‘मलाया युद्ध’को कथामा आधारित नेपाली चलचित्र ‘गोर्खा वारियर’को भव्य रेड कार्पेट शो गरिने भएको छ ।
सन् १९४९ मा मलायाको जंगल युद्ध लडेका गोर्खा सैनिकहरुको कथालाई गत भदौ २४ गते लण्डनको लिसेस्ट स्क्वायरमा ऐतिहासिक भव्य प्रिमियर गरिएको थियो ।
हलिउड चलचित्र प्रिमियर हुने लिसेस्ट स्क्वायरमा प्रिमियर हुने पहिलो नेपाली चलचित्रकोरुपमा पनि गोर्खा वारियारले इतिहास बनाइसकेको छ । नेपालमा फागुन ११ गतेदेखि प्रर्दशनमा आउने यो चलचित्रलाई त्यसअघि नै फागुन ५ गते धरानमा रेड कार्पेट प्रिमियर गर्ने तयारी छ ।
चलचित्रका निर्देशक मिलन चाम्स, नायक नितेश चाम्स, नायिका रेविका गुरुङ, रेयर राईसहितको टोली भव्य प्रिमियरको तयारीमा जुटेका छन् ।
लण्डनमा प्रिमियर गरेर इतिहास बनाएको फिल्मलाई धरानमा पनि रेड कार्पेट प्रिमियर गर्ने र उक्त प्रिमियरलाई उत्सवकैरुपमा मनाउने गरि तयारी भइरहेको निर्देशक चाम्सले बताए ।
‘धरानमा पनि फागुन ५ गते भव्य रेड कार्पेट प्रिमियर गर्ने तयारीमा छौं, यो प्रिमियर उत्सवकैरुपमा मनाउने गरि भव्य हुनेछ,’ मंगलबार पत्रकार सम्मेलनमा निर्देशक चाम्सले भने ।
निर्देशक चाम्सले यो चलचित्रमा धरानबासीहरुकै कथा ६०, ७० प्रतिशत भएको पनि बताए । साथै उनले धरानबाट अर्को नायक नितेस चाम्सको उदय भएको र उनको कामको प्रशंसा भइरहेको पनि बताए ।
‘यो फिल्ममा ६०, ७० प्रतिशत त धरानको कथा भन्दा पनि फरक नपर्ला । धरानबाट नै अर्को नायक उदय भएको छ, उहाँ व्यवसायिक पाइलट पनि हो, कामको प्रशंसा पनि भएको छ । यो फिल्म सबैले हेरिदिनुपर्छ,’चाम्सले भने ।
लिसेस्ट स्क्वायरमा प्रिमियर हुने बेला यो चलचित्रलाई बेलायती प्रधानमन्त्री ऋषि सुनाकले शुभकामना पनि दिएका थिए भने विदेशी मिडियाहरुले पनि प्राथमिकताका साथ चर्चा गरेको थियो ।
हाल यो फिल्मलाई कोरियन काम्पनीले कोरियन भाषामा ७ बर्षको लागि लिइसकेको पनि निर्देशक चाम्सले बताए । यस्तै, अमेरिकन कम्पनीसँग पनि डिल भइरहेको र पछि उक्त कम्पनीले विश्वव्यापी वितरण गर्ने पनि उनले जानकारी दिए ।
Discussion about this post