विराटनगर । विराटनगरमा भेटिएको ‘प्रेसर कुकर’ बम नेपाली सेनाले निस्कृय पारेको छ ।
मोरङको थलाहास्थित नेपाली सेनाको भैरव गणबाट खटिएको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको हो । सेनाले डिस्पोज गरेका कारण बम विष्फोट भएर ठूलो क्षति हुन पाएन ।
विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालयनजिकै सोमबार साँझ शंकास्पद वस्तु भेटिएको थियो । उक्त शंकास्पद वस्तु ‘प्रेसर कुकर’ बम रहेको पुष्टि भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयबाट लगभग २ सय मिटर पश्चिममा आँपको रुख रहेको चउरमा सोमबार साँझ अन्दाजी २ लिटरको प्रेसर कुकरमा टेपले बाँधेर बिजुलीको तार जडान गरी राखिएको शंकास्पद वस्तु फेला परेको थियो । घटनास्थललाई रातभर प्रहरीले सुरक्षा दिएर राखेको थियो ।
उक्त वस्तु नेपाली सेनासँगको समन्वयमा मंगलबार बिहान १०ः४३ बजेतिर डिस्पोज गरिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले दिए । निस्कृय बनाउने क्रममा शंकास्पद वस्तु बम रहेको पुष्टि भएको हो । कुकरमा ३ वटा डेटोनेटरसमेत जडान गरेर बम तयार गरिएको पाइएको सैनिक स्रोतले बतायो । स्रोतका अनुसार डेटोनेटर जडान गरिएको कुकरभित्र साबुनको डल्ला र ढुंगा फेला परेको छ ।
‘डेटोनेटरले कुकरलाई विष्फोट गराउन मद्धत गर्छ । साबुनले बारुद (जिलेटिन)को काम गर्छ । डेटोनेटर र साबुनको मिश्रणले ठूलो आवाज र धमकासहित कुकरलाई विष्फोट गराउँछ । कुकरभित्र राखिएको ढुंगाले वरपर क्षति पुर्याउँछ,’ सैनिक स्रोतले भन्यो । स्रोतका अनुसार बेलैमा बम निष्कृय पार्न सकिएका कारण ठूलो क्षति हुन पाएन । यस विषयमा नेपाली सेनाले थप अनुसन्धान गरिरहेको छ । कुकरभित्र भेटिएका अवशेषलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्रोतले बतायो ।
उक्त बम कहाँ लगेर विष्फोट गराउने योजना थियोभन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । ‘कतै लगेर विष्फोट गराउने योजनासहित बम बनाइएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो ।
प्रेसर कुकर बम बनाएर राखेको घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माङ्सेबुङ गाउँपालिका–१ घर गजुरमुखी घर भइ काठमाडौंको भीमसेनगोलामा डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी रहेका छन् । मिश्र र अधिकारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर खडा गरिएको नयाँ भूमिगत संगठनमा आवद्ध रहेको प्रहरीको भनाइ छ ।
उक्त भूमिगत संगठनले पूर्वी तराईका जिल्लाका निजी विद्यालयमा चन्दा आतंक मच्चाइरहेको थियो । चन्दा असुलीकै लागि बम बनाउने र विष्फोट गराउने योजना बनाएको प्रहरीको भनाइ छ । एसपी पोखरेलले जनमानसमा त्रास सिर्जना गरेर चन्दा असुलीकै लागि बम बनाएर विष्फोटको तयारी गरिएको हुनसक्ने बताए । उनका अनुसार पक्राउ परेपछि उक्त बम आफूहरुले नै राखेको मिश्र र अधिकारीले स्वीकार गरेका थिए ।
बम राखेको स्थानमा उनीहरुले नै प्रहरीलाई देखाएका थिए । ‘फागुन १ गते (जनयुद्ध दिवस)लाई लक्षित गरेर बम बनाइएको स्वीकार गरेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘जनमानसमा त्रास सिर्जना गर्ने र चन्दा आतंक मच्चाउने मुख्य उदेश्य रहेको पाइयो छ ।’
Discussion about this post