झापा । अबरुद्ध बिर्तामोड–अर्जुनधारा सडकखण्ड निर्माणको काम आइतवारबाट सुचारु हुने भएको छ ।
अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देनको समेत उपस्थितिमा भएको सर्वपक्षीय बैठकबाट निर्माण व्यवसायीले आइतबारबाट सडक निर्माण कार्य सुचारु गर्ने प्रतिबद्धता जनाएका हुन् । निर्माण शुरु गरेको तीन÷चार महिनाभित्र सो सडक कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिवद्धतासंगै सडक सुचारु गर्ने सहमति गरेको हो । झण्डै दुई सातादेखि सो सडक स्थानीयले अवरुद्ध पारेका छन् ।
लामो समयसम्म पनि सडक निर्माण कार्य सम्पन्न नभएको र धुलाम्मे सडकका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीयले सवारी आवागमन ठप्प पारेका थिए । पुलचोकबाट कप्तानवारीसम्म ढाट लगाएर स्थानीयले सवारी आवागमन रोकेका छन् । लामो समय बितिसक्दा पनि सडक निर्माणको काम अघि नबेढको र निर्माण व्यवसायीले सडक अलपत्र पारेको भन्दै सडक बन्द गर्न सरोकार समिति गठन गर्दै सडक अबरुद्ध पारिएको स्थानीय गणेश इङ्नामले बताए । तर, सडक निर्माण सुचारु गरिएसंगै सडक खुल्ला गरिने बताइएको छ ।
यस अघि शिव आचार्यको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गर्दै सडक अवरुद्ध पारिएको थियो । भ्याटसहित १५ करोड ८२ लाख ७७ हजार रुपैयाँमा प्रवीण– मैनाचुली–शान्ति जेभीले २०७९ जेठ ९ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, निर्माण शुरु भएको २० महिना बितिसक्दा समेत निर्माण कम्पनीले १५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटले उक्त सडक २०८१ जेठमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
Discussion about this post