झापा । छुट्टै लिम्बुवान राज्यको माग राख्दै बिगत लामो समयदेखि पूर्बमा आन्दोलन गरिरहेको संघीय लिम्बुवान पार्टी नेपालसहितका चार घटकले संविधानको पुनरलेखन गरी स्वयत्त लिम्बुवान राज्यको माग गरेको छ ।
संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष मित्र लिङ्देन,लिम्बूवान क्रान्तिकारी पार्टीका केन्द्रीय अध्यक्ष मनिष हेल्लोक , लिम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यष दिल पालुङ्वा याक्थुङ, लिम्बुवान मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सोदुहाङ योङहाङले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको पनरलेखन गर्नु पर्ने, प्रदेश १ खारेज गरी लिम्बुवान स्वयत्तताको ग्यारेन्टी गरिनु पर्ने माग राखेका छन् ।
लिम्बुवानको राजनीतिक इतिहासलाई आफू अनुकुलको संघीयता ब्याख्या गर्ने ऐन ,कानून र संविधान बनाउँदै अरुण पूर्ब लिम्बुवानलाई छायाँमा पार्दै सरकार र राजनीतिक दलले लिम्बुवानसंग गरेको सम्झौताको समेत धज्जी उडाउँदै १ नम्वर प्रदेशको नाम कोशी राखिएको र सोही दिनबाट आफूहरुले कोशी प्रदश खारेजीको आन्दाोलन शुरु गरेको विज्ञप्तिमा उल्लेछ छ ।
२०७९ फागुन १७ गते देखि कोशी प्रदेश खारेजीको माग गर्दै आफूहरु आन्दोलनमा रहेको र राज्य पक्षबाट अहिलेसम्म पहिचानवादी आन्दोलनलाई फुटाउने , आन्दोलनका क्रममा गोली चलाएर पहिचानवादीलाई सखाप पार्न खोज्ने जस्ता काम भइरहेकोले त्यस्तो कार्य तुरुन्त रोक्न समेत माग गरिएको छ ।
सरकारले दुई पटक बार्ताका लागि बोलाएपनि बार्ता कुनै निष्कर्षमा नपुगेको र तेस्रो चरणको बार्तामा लिम्बुवान स्वायत्तताको ग्यारेन्टी गरिनु पर्ने आवाज उठाइने विज्ञप्तिमा उल्लेख छ ।
फागुन १० गते सरकारसंग तेस्रो चरणको बार्ता हुने र ९ गते आम हड्तालको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post