विराटनगर । लामो समयदेखि बन्द अवस्थामा रहेको मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्समा आगलागी भएको छ ।
विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्समा मंगलबार राति भएको आगलागीलाई प्रहरीले शंकास्पद भनेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आगलागीमा २० लाख बराबरको क्षति भएको खुलेको छ ।
सरकारी स्वामित्वको जुट मिल्स २०७८ साल माघदेखि बन्द थियो ।
बन्द अवस्थाको जुट मिल्सको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको हो ।
मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाले जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र नियन्त्रणमा लिन निक्कै समय लागेको जानकारी दिए ।
उनका अनुसार आगोले जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जलेर क्षति भएको छ । मिल्सका २ वटा मेसिनमा समेत आंशिक क्षति पुगेको बताइएको छ ।
आगालागीको कारण हालसम्म नखुले पनि घटनामा २० लाख बराबरको क्षति भएको सुब्बाले बताए ।
नेपाल एवं सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाबाट गएको दमकलको सहयोगमा बुधबार बिहानका राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।
नेपाल प्रहरीका तर्फबाट इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासेको नेतृत्वमा टोली आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो ।
२ वर्षदेखि बन्द अवस्थामा रहेको जुटमा एक्कासि आगलागी हुनुले घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ । जुट मिल्सको विषयलाई लिएर पुराना कर्मचारी र व्यवस्थापनबीच बेलाबेला विवाद हुने गरेको पाइएको प्रहरीको भनाइ छ ।
मिल्समा काम गरेका पुराना कर्मचारीले लामो समयदेखिको भुक्तानी पाउन सकिरहेका छैनन् ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुनै व्यक्तिले आगो लगाएजस्तो देखिन्छ ।
घटना शंकास्पद देखिएकाले दायरा फराकिलो पारेर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । घटनामा कोही कसैको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
मिल्सका सुरक्षा कमाण्डर सुब्बाका अनुसार घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुन्छ ।
बन्द रहेको जुट मिल्स सरकारले केही समयभित्रमै सञ्चालन गर्न लागेको र मिमल्स चलेको हेर्न नचाहने समूहले आगो लगाएको हुनसक्ने उनी बताउँछन् ।
Discussion about this post