काठमाडौं । चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै ६ फागुनमा भरतपुर बसपार्क चोकमा सयौं लिटर दूध पोखेर आन्दोलन गरे ।
उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दैं किसानले दूध सडकमै पोखेर विरोध जनाए । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आबद्ध किसानले दूध पोखेका थिए ।
उनीहरूले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाए । त्यसपछि किसान फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोक पुगेर दूध पोखेका थिए । त्यसा त केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ आह्वानमा देशभरि दूध किसान आन्दोलित नै छन् ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ सञ्चालक कृष्ण सापकोटा यो देशभरि नै गठन भएका जिल्ला संघले अब आन्दोलन थालेको बताए । ‘किसानहरूको ठूलो उपस्थितिमा हामीले आन्दोलन थाल्ने भएका छौं । अहिले देशभरिका किसान ठूलो मर्कामा छन्,’ उनले भने, ‘एक त अहिले दूध बिक्री नै छैन, भएको पनि रकम भुक्तानी पाएको छैन ।
उनका अनुसार किसानले सहकारी मार्फत बेचेको दूध सरकारी स्वामित्वको दुग्ध विकास संस्थान -डीडीसी-ले किनेको हो । त्यसैको भुक्तानी हुन बाँकी करिब १ अर्ब रुपैयाँ जति किसानले पाएका छैनन् । ‘डीडीसीले असोजदेखि किसानहरुको दूधको रकम भुक्तानी गरेको छैन ।
हुँदा हुँदा निजी डेरी उद्योगले पनि दुई महिनादेखि दूधको पैसा दिएका छैनन्,’ सापकोटाले भने, ‘अनि, किसानले यस्तोमा कसरी दूध उत्पादन गरोस् ? त्यही भएर आन्दोलन सुरु भएको हो ।’
उपभोग नै कम हुँदा समस्या
डीडीसी महाप्रबन्धक सञ्जीवकुमार झाका अनुसार बजारमा दूध उपभोक्ता घटेकाले किसानको रकम भुक्तानीमा समस्या रहेको दाबी गर्छन् ।
‘अहिले संसारभरि जस्तै नेपालमा पनि आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । दैनिक ४ लिटर दूध किन्ने परिवार २ लिटरमा झरेका छन्,’ झाले भने, ‘कर्पोरेट हाउसहरू दूधको चियाको सट्टा कालो चिया खाइरहेका छन् । हेर्दा सामान्य लागे पनि धेरै उपभोक्ताले दूध कटौती गरिरहेका छन् ।’
किसानले आन्दोलन गरिहेको विषयमा पनि बजारमा दुग्धजन्य पदार्थ खपत कम हुनुलाई उनी मान्छन् । ‘डीडीसीको मात्रै करिब १ अर्ब १० करोड मूल्य बराबरको उत्पादन स्टक भएर बसेको छ । हामीले किसानसँग किनेको दूधको परिकार बनाएर बजारमा बिक्री नहुँदा हाम्रो पूँजी त्यहीँ रोकिएको छ,’ महाप्रबन्ध झाले भने, ‘जसका कारण किसानले भुक्तानी नपाएका हुन् । बिस्तारै बजारको सिजन वैशाखदेखि सुरु हुने भएकाले खपतसँग पूँजी आउँदा किसानले भुक्तानी पाउनेछन् ।’
कतिपय निजी डेरी उद्योगले किसानको दूध नकिनिदिँदा त्यसको दबाब पनि डीडीसीलाई परेको उनले बताए । ‘बजारमा उत्पादन भएका पदार्थ खपत नभएपछि स्टोर भरिँदा पाउडर दूध, घिउ उत्पादन हुन छाडेको छ, त्यसको प्रेसर डीडीसीलाई आइरहेको छ,’ उनले भने र
झाका अनुसार नेपालमा दुई सरकारी, एक सहकारी र चार निजी गरी सात पाउडर दूध उद्योग छ । जसमा अर्बौंको उत्पादन गोदाममा थन्किएका छन् ।
Discussion about this post