इटहरी । इटहरीमा आज सुरु हुने भनिएको जुत्ता चप्पल व्यापार मेलाको इटहरीका स्थानीय व्यापारीहरूले अवरोध गरेका छन् ।
मेलाको कारण इटहरीका स्थानीय व्यापारीहरूलाई नोक्सानी हुने भएकाले जुत्ता चप्पल मेलाको विरोध जनाएका हुन् ।
शुभकामना फुटवेयर ईन्ड्रष्ट्रिज प्रालिको आयोजनामा हुने मेला इटहरीका जुत्ता चप्पल व्यापारीहरूसँग समन्वय र छलफल नगरी गरिएको आरोप लगाउँदै उद्योग वाणिज्य सङ्घ इटहरीमा उजुरी परेको अध्यक्ष जीवन पराजुलीले बताए ।
“गुनासो आएपछि हामीले आयोजक र इटहरीका जुत्ता चप्पल ब्यबसायीसँग छलफल गरेका थियौँ । छलफलको क्रममा मेलाको उद्घाटन गर्ने र उत्पादनहरूको प्रचारप्रसार मात्र गर्न पाउने बेच्न नपाउने कुराकानी भएको छ,” अध्यक्ष पराजुलीले प्रदेश खबरसँग फोन सम्पर्कमा भने ।
नेपाली उत्पादनको प्रवर्द्धन गर्न यही फागुन ११ गतेदेखि चैत १५ गतेसम्म १ महिना हुने भनिएको मेला इटहरीका जुत्ता चप्पल व्यापारीहरूले विरोध जनाएपछि उद्घाटन र प्रचारप्रसार मात्र गर्नु भनेर छलफलमा भनिएको मेलाका संयोजक होमनाथ उपाध्यायले बताए ।
यता, मेला आयोजक मध्येका नामि राज घिमिरेले सबै प्रक्रिया पूरा गरेर मेला सञ्चालन गर्न खोज्दा पनि उद्योग वाणिज्य सङ्घ इटहरी र स्थानीय व्यापारीहरूले दादागिरी शैलीमा मेलाको अवरोध गर्न खोजेको बताए ।
“हामीले आन्तरिक राजस्व कार्यालय, प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय सुनसरीमा जानकारी गराएर कार्यक्रम गर्न खोज्दा पनि उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष सहित व्यापारीहरूले जुत्ता चप्पल बेच्न नदिने भनेर भनेपछि हामीले कानुनी उपचार खोज्ने तयारी गरिरहेका छौँ,” मेला सञ्चालक घिमिरेले भने ।
मेला सञ्चालन गर्नको लागि भने इटहरी उपमहानगरपालिकाले फागुन ४ गते नै स्वीकृति दिइसकेको छ ।
१ महिना चल्ने भनिएको मेलामा नेपालमा उत्पादन भएका जुत्ता चप्पलहरू न्यूनतम २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने बताइएको छ । यसरी भारी छुटमा जुत्ता चप्पल बेच्दा इटहरीका व्यापारीहरूको व्यापार नहुने भएकाले विरोध जनाएको इटहरीका स्थानीय व्यापारीहरूले बताएका छन् ।
दिउसो ४ बजे मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Discussion about this post