६ माघमा कैलालीको अमरावती सामुदायिक वनमा, ४ फागुनमा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको अरुणखोला बजारनजिकैको जंगलमा र शनिबार पनि सोही पालिकाको नवदुर्गा सामुदायिक वनमा मृत भेटिए पाटे बाघ
धनगढी- नेपालमा संरक्षित क्षेत्रबाहिरका वनजंगलका पाटेबाघ तस्करको निसानामा पर्न थालेका छन् । पछिल्लो एक महिनामा मात्र कैलाली र नवलपरासीमा तीनवटा पाटेबाघ मारिएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका क्षेत्रमा एक साताको अन्तरालमा मात्र दुइटा बाघ मारिएका छन् । मध्यविन्दु–१५ मा रहेको नवदुर्गा सामुदायिक वनमा शनिबार वयस्क भाले पाटेबाघ खाल्टोमा गाडिएको अवस्थाम मृत फेला परेको छ ।
वनरक्षकले गस्तीका क्रममा खोल्सामा केही वस्तु गाडेकोजस्तो देखेपछि खोतलेर हेर्दा बाघ मारेर गाडिएको अवस्थामा रहेको भेटिएको डिभिजन वन कार्यालय कावासोतीका वनअधिकृत शिशिर लम्सालले बताए ।
‘बाघ मारेको त प्रस्ट हुन्छ । तर, तस्करले हो वा अरूले नै धराप थापेर मारेका हुन्, यकिन भन्न सक्ने अवस्था छैन । यसको गहन अनुसन्धान हुन्छ,’ उनले भने ।
यसअघि ४ फागुनमा मध्यविन्दुको अरुणखोला बजारनजिकैको जंगलमा भाले पाटेबाघ मृत फेला परेको थियो । उक्त बाघ विष हालेर मारेको आशंका गरिए पनि पोस्टमार्टम रिपोर्ट विधि विज्ञान प्रयोगशालाबाट अझै आएको छैन । यी दुवै बाघ चितवन निकुञ्जका रहेको अनुमान छ ।
त्यसअघि ६ माघमा कैलालीको जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पासो लगाएर बाघ मारिएको थियो । उक्त बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट सामुदायिक वनमा गएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले कैलाली र नवलपरासीमा बाघ मारिएका घटनाबारे सूक्ष्म अध्ययन भइरहेको बताए । ‘प्राविधिक पाटोमा हामी (विभाग) सघाउँछौँ, अपराधसँग जोडेर सिआइबीले हेर्छ,’ ढकालले भने, ‘प्रतिशोधको हिसाबले मार्न थालेको वा गिरोह नै सक्रिय भएको हुन सक्छ ।’
संरक्षित क्षेत्रबाहिर पनि बाघ देखिन थालेपछि गिरोह सक्रिय भएको अनुमान गर्न थालिएको छ । निकुञ्जको सुरक्षा नेपाली सेनाको घेरामा रहने भए पनि सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएकाले गिरोह त्यतातिर लागेको हुन सक्नेबारे विभागले अध्ययन गरिरहेको छ ।
‘राष्ट्रिय वनमा सशस्त्र वनरक्षक त हुन्छन्, तर निकै कम संख्या छ । अपराध भइहाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सहकार्य हुन्छ,’ ढकालले भने, ‘त्यहाँ त्यति ध्यान नजाने भएकाले तस्करी गर्न सहज भएको हुन सक्छ ।’ विभागको ०७९ को सर्वेक्षणअनुसार नेपालमा तीन सय ५५ पाटेबाघ छन् ।
राष्ट्रिय प्रकृतिक संरक्षण कोषका प्रवक्ता अम्बिकाप्रसाद खतिवडा नेपालमा बाघ मारिने घटनालाई दुइटा कोणबाट हेर्छन् । पहिलो, छाला र हड्डी तस्करी गरेर पैसा कमाउन बाघलाई निसाना बनाइन्छ भने दोस्रो द्वन्द्वका कारण जिउज्यान जोगाउन मारिने हुन्छ ।
‘बाघको तस्करी गर्ने ‘नेटवर्क’ नै छ, थोरै पैसा दिएर बाघ मार्न स्थानीयलाई प्रयोग गरिन्छ,’ खतिवडाले भने, ‘तस्करले गरिबीको फाइदा उठाउँछन् । निकै कम पैसा दिएर मार्न लगाउँछन् । पक्राउ पर्ने पनि भरिया वा कम पैसा लिएर बाघ मार्नेहरू हुन् । नाइकेहरू फुत्किहाल्छन् ।’
नेपाललाई ट्रान्जिट बनाएर भारत र चीनमा वन्यजन्तु र तिनका आखेटोपहार पठाउने गरिन्छ । आखेटोपहारबाट पुरानो पद्धतिको औषधि बनाउने, उपहार दिन एवं सजावटका सामग्रीमा बाघको आखेटोपहारको प्रयोग हुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ अनुसार वन्यजन्तुको चोरी–सिकारी गर्ने, आखेटोपहार राख्ने, खरिद–बिक्री गर्ने तथा ओसारपसार गर्नेलाई पाँच लाख रुपैयाँदेखि १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद तथा दुवै सजाय हुन्छ ।
कैलालीमा बाघ मार्नेको पहिचान भएन
कैलालीमा बाघ मार्नेको पहिचान हुन सकेको छैन । सबडिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरका अनुसार अनुसन्धानका लागि यसअघि प्रशासन र प्रहरीमा पत्राचार गरिएको थियो ।
अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई गुहार्ने तयारी छ । ‘पासो लगाइएको अवस्थामा बाघ मृत फेला परेको थियो । अनुसन्धानका लागि सिआइबी र केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइलाई पत्राचार गर्ने तयारी छ ।’
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
Discussion about this post