काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आइतबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने भएको छ।
बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै आजको बैठकमा विरोध जारी राख्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई अविलम्ब वर्खास्त गर्नुपर्ने बताएको छ।
अख्तियारलाई स्वतन्त्र रुपमा उक्त प्रकरणमा छानविन गर्नका लागि पनि मन्त्री बस्नेतलाई हटाउनुपर्ने एमालेको भनाइ छ। मन्त्री बस्नेतलाई दाग लागेको भन्दै फिर्ता बोलाउनुपर्ने आवाज कांग्रेसभित्रै पनि उठ्न थालिसकेको छ।
यसैगरी एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटन मन्त्री सुदन किरातीको राजीनामा मागिरहेको छ।
प्रतिनिधि सभाको बैठक आइतबार ११ बजे बस्दै छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने संसद् सचिवालयकाे सम्भावित कार्यसुचिमा उल्लेख छ।
Discussion about this post