इटहरी / इटहरीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
इटहरीको पश्चिम लाइनस्थित राजस्व ढाट नजिकै आज (आइतबार) दिउँसो ना ६ ख ६५७५ नम्बरको मालबाहक ट्रकले प्रदेश १-०२-०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी ५ का ३१ वर्षीय रोबिन राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले पुष्टि गरे ।
उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक झापाको अर्जुनधारा ९ का ठाकुरलाल तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।
Discussion about this post