विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान भयानक दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
दुर्घटनाका ५ जना घाइतेमध्ये ३ जनाको मृत्यु भइसकेको हो । २ जनाको उपचार जारी छ । मृतक र घाइते सबैको पहिचान खुलिसकेको छ ।
दुर्घटना झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले उद्धार गरेर उपचारका लागि पठाएकोमा यदुकान्त र दीपालाई कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । कृष्णलाई उपचारका क्रममा बिहान ८ः५५ बजेतिर न्युरोका चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा परेर घाइते भएका कमल गाउँपालिका–४ का ४६ वर्षीय हरि खनाल र कमल–२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरो अस्पतालमै उपचार भइरहेको एसपी कार्कीले बताए ।
उनका अनुसार हरिको अवस्था गम्भीर र गायत्रीको अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ । दुर्घटनामा परेर घाइते भएका सबैलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पठाएको थियो ।
पूर्व–पश्चिम लोकमार्गमा टिपर, बस र बोलेरो जीप ठोक्किएर बिहान ६ः३० बजेतिर भयानक दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक र घाइते ५ जना नै बोलेरो जीपमा सवार थिए । टिपर चालक र बसमा सवार रहेकाहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ । त्यसपछि अनियन्त्रित बनेको टिपरले बसको पछिपछि पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार मृतक दीपा घाइते हरिकी श्रीमती हुन् । मृतक यदुकान्त घाइते अवस्थाकी गायत्रीका श्रीमान हुन् । कृष्ण गजुरेल बोलेरो चालक रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ भने टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका सवारीसाधनलाई प्रहरीले जेसीबीको प्रयोग गरेर सडकबाट हटाएको छ ।
प्रहरीले दुर्घटनालगत्तै टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको हो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
Discussion about this post