विराटनगर । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या प्रकरणको प्रमुख कारक प्रेम सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्यामा संलग्न मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेर मंगलबार साँझ सार्वजनिक गरेको छ ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भई पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो ।
धीरेनले धारिलो हतियार प्रहार गरेर ज्ञानमतिको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार शौचालय गएका बेला हतियार प्रहार गरिएकी बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्यापछि फरार बनेका धीरेनलाई मंगलबार २ः३० बजेतिर बेलबारीको भाउन्नेस्थित जंगलबाट पक्राउ गरिएको जानकारी कार्कीले दिए ।
बालिकाको हत्यापछि घटनामा संलग्नलाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न एसपी कार्की आफैं फिल्डमा खटिएका थिए । अन्ततः पहिचान गरेर बालिकाको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
प्रहरीका अनुसार ज्ञानमतिको हत्या आफैंले गरेको धीरेनले स्वीकार गरेका छन् ।
हत्या गरिएकी ज्ञानमति धीरेनको छोरा उमेरकी बालिका हुन् । उनीहरुबीच लगभग डेढ वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एसपी कार्कीका अनुसार सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र इमोमार्फत चिनजान भएपछि दुवै जना प्रेम सम्बन्धमा रहेका थिए ।
‘छोरा उमेरकी बालिकासँग धीरेन प्रेम सम्बन्धमा रहेको पाइएको छ । बिहे गर्ने योजना बनाएर एकपटक उनीहरु भागेको पनि खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘तर, भारततर्फ जाँदै गर्दा मानव बेचबिखनको क्षेत्रमा कार्यरत संस्थाले उद्धार गरेर बालिकालाई अभिभावकको जिम्मा लगाएको रहेछ ।
बिहे सम्भव नभएपछि धीरेनले योजनावद्ध हिसाबले ज्ञानमतिको बीभत्स हत्या गरेको पत्ता लाग्यो ।’
धीरेन बाराको जितपुर सिमरा उपमहानगरपालिकामा घर बनाएर बस्दै आएका थिए । त्यहाँ आफ्नी आमालाई पनि लगेर राखेका थिए ।
हत्या गर्ने योजनाका साथ धीरेन केही दिनअघि मात्र बाराबाट मोरङ आएको एसपी कार्कीले बताए । उनका अनुसार विवाहित धीरेनका श्रीमती र १४ वर्षीय छोरा छन् ।
श्रीमती ४ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा बस्दै आएको यकिन भएको छ । श्रीमतीले छोरालाई पनि दुबई नै लगेकी थिइन् ।
प्रहरीका अनुसार धीरेन र उनकी श्रीमतीबीचकोे सम्बन्धमा दरार उत्पन्न भएको थियो । ‘श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत बालिकासँग नजिकिएका धीरेनले प्रेम र बिहेको बहानामा अन्ततः उनैको बीभत्स हत्या गरेको पाइयो,’ एसपी कार्की भान्छन्, ‘डेढ वर्षदेखि उनीहरु माया–प्रेममा रहेको पत्ता लाग्यो ।’
उनका अनुसार बिहे गर्ने मनसाय बनाएर उनीहरु गत असारमा विराटनगरको जोगवनी नाका हुँदै भारततिर जाने तयारीमा थिए । तर, मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाले उद्धार गरेर ज्ञानमतिलाई अभिभावकाको जिम्मा लगाएको थियो ।
परिवारले ज्ञानमतिको बिहे आफूसँग नगरिदिने बुझेका धीरेनले धारिलो हतियार प्रहार गरेर क्रुरतापूर्वक उनको हत्या गरेको एसपी कार्कीको भनाइ छ ।
ज्ञानमति २ वर्षअघि पहाडबाट झरेकी थिइन् । त्यसपछि पथरीशनिश्चरे–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा बस्न थालिन् ।
उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका थिए ।
फुर्सदका समयमा ज्ञानमतिले नास्ता पसलमा दाजु–भाउजूलाई सरसहयोग पनि गर्थिन् । त्यसबाहेक पढ्नलाई विद्यालय जान्थिन् । उनका बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको प्रहरीले जनाएको छ ।
एसपी कार्कीका अनुसार खाना खाएर सुत्नुअघि शौच गर्न जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर धीरेनले धारिलो हतियार प्रहार गरेर ज्ञानमतिको बीभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको प्रहरीको भनाइ छ ।
ज्ञानमति चिच्याएको आवाज आएपछि हेर्दा उनलाई दाजु विनोदले छटपटाउँदै गरेको गम्भीर अवस्थामा फेला पारे । उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीको भनाइ छ ।
प्रहरीले ज्ञानमतिका हत्यारा पत्ता लगाउन तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो । ‘दर्दनाक घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
प्राप्त सबुत प्रमाणका आधारमा गहिरो हिसाबले अनुसन्धान हुन्छ,’ एसपी कार्कीले भने, ‘घटनासँग सम्बन्धित अरु पनि पाटाहरु छन् कि भनेर हेर्ने काम भइरहेको छ । थप केही भएमा अनुसन्धानबाट खुल्दै जान्छ ।’ उनले बालिकाको हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमा कुनै कमजोरी हुन नदिने पनि बताए ।
Discussion about this post