झापा-साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र वसन्त जिम्बाले गोल गरेका थिए ।
श्रेष्ठले खेलको ६१औँ मिनेटमा तथा जिम्बाले ८०औँ मिनेटमा गोल गरेका थिए। पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीन विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए । आर्मी झापा गोल्ड कपको चारपटकको विजेता टोली हो।
प्रतियोगितामा पहिलोपटक सहभागी भएको मच्छिन्द्र क्वाटरफाइनलबाटै बाहिरिएको छ। आजको खेलमा म्यान अफ दी म्याच आर्मीका बसन्त जिम्बा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरेका छन्।
बिहीबार आयोजक झापा(११ तथा एन्फा मकवानपुरबीच क्वाटरफाइनलको खेल हुनेछ । यही फागुन २८ गतेसम्म चल्ने झापा गोल्डकपमा १० टोली सहभागी छन्।
Discussion about this post