इटहरी- इटहरी २० तरहरामा १० किलोमिटर दौड प्रतियोगितामा विभिन्न स्थानबाट आएका एक हजार सात सय धावक दौड प्रतियोगितामा सहभागी भए ।
प्रतियोगिता विभिन्न सात विधामा आयोजना गरिएको थियो । विधागततर्फका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
१६ देखि ३९ वर्ष उमेर समूहका धावकहरूले सबैभन्दा छिटो १० किलोमिटर दूरी पार गरेर प्रथम, द्धितीय र तृतीय भएकाहरूलाई पुरस्कृत गरियो । जसमा जनही ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल प्रदान गरियो ।
यसैगरी ४० देखि माथिका (भेट्रान) लाई पनि १० किलोमिटर दौडमा सहभागी गराइएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई नगद १० हजार, सात हजार र पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।
यसैगरी १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले १० किलोमिटर दौडमा सहभागी भए । उनीहरूमध्ये प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई पनि नगद १० हजार, सात हजार र पाँच हजार प्रदान गरियो ।
प्रतियोगितामा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो । जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई जनही पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल प्रदान गरियो ।
यसैगरी ह्वील चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता आयोजना गराइयो ।
जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई क्रमशः नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल प्रदान गरियो । सबै विधामा पुरुष र महिलाहरूलाई पुरस्कृत गरिएको थियो । यस्तै, स–परिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हरेक मानिस जीवनमा दौडिनुपर्ने बताए । ‘आज गाउँको वास्तविकता अवस्था हेर्न पाइयो, धेरै मानिस गाउँ फर्किरहेका छैनौँ,’ उनले भने, ‘हाम्रो गाउँ बाटो हेर्दा रमाइलो अनुभूति भयो । हरेक मानिस जिन्दगीमा दौडिनुपर्छ । जिन्दगी भनेकै दौड पनि हो ।’
उनले जीवनमा दौडेर थाक्न नहुने बताए । योग्य र दक्ष जनशक्ति निर्माण गर्नका निम्ति उपमहानगरले बजेट बिनियोजन गरेको उनको भनाइ छ ।
इटहरी क्षेत्रमा हुने सबै दौडमा आफू सहभागी भएकाले यो दौड सबैभन्दा बढी सहभागी भएको र बृहत भएको मेयर पौडेलले बताए ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले यो दौडले स्वास्थ्यप्रति चेतना फैलाएको बताए । ‘आगामी वर्षमा हुने कार्यक्रममा वडाबाट बजेट बिनियोजन हुनेछ,’ उनले भने, ‘स्वास्थ्य रहनुपर्छ भनेर दौड आयोजना गरिँदा सकारात्मक सन्देश दिएको छ ।’
स्वास्थ्य नै ठूलो सम्पत्ति रहेको भन्दै उनले सोच र विचार सकारात्मक हुनुपर्नेमा जोड दिए ।
छिमेकी देश भारतको दार्जिलीङबाट आएका भुटिया…..ले आफू हार्न, जित्नका लागि नभइ स्वास्थ्यका लागि दौडेको बताए । ‘मात्नुभन्दा सुत्नु राम्रो, सुत्नुभन्दा कुद्नु राम्रो,’ उनले भने, ‘मलाई कुद्दाखेरि जिस्काउँछ, तिमी जित्छौ भन्छन् ? म जित्नका लागि होइन, स्वास्थ्यका लागि कुदेको हुँ ।’
उनले कुद्दा कूलतबाटसमेत मुक्त हुने भएकाले युवाहरूलाई कुद्नका निम्ति प्रोत्साहित गरे ।
खेल संयोजक मीनकुमार खवासले रनर भनेको कोही जित्ने, हार्ने भन्दापनि कुद्नेहरू सबै रहेको बताए । उनले भने, ‘रनररू उहाँहरू हो, जसले टार्गेट पूरा गर्नुहुन्छ । फरक यतिमात्रै हो, कसैले छिटो र कसैले ढिलो टार्गेट पूरा गर्नुहुन्छ ।’
तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार स्थानीय ठाउँलाई चिनाउन र पर्यटन प्रबद्र्धन गर्नका निम्ति उक्त रन कार्यक्रमको आयोजना गरिएको हो ।
पहिलोपटक तरहरामा यो किसिमको रन कार्यक्रम अयोजना गरिएको र अर्को वर्षपनि आयोजना गरिने बताए ।
Discussion about this post