विराटनगर / सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार सहिदहरूको सूची राजपत्रमा प्रकाशित गरिएको छ ।
पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई सम्मानस्वरुप सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार नयाँ राजनीतिक समीकरणपछि बनेको सरकारले सहिदको सूची राजपत्रमार्फत सार्वजनिक गरेको हो ।
नेपालको राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेकाले सूचना प्रकाशित गरिएको राजपत्रमा उल्लेख छ ।
यसअघि घोषणा गर्न छुटेका तथा पुरानो घोषणा गरिएको विवरण सच्याई ४ हजार १ सय ५३ जना सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको हो ।
यति धेरै सहिद एकै पटक घोषणाले केहीलाई राहत त मिल्ला नै तर वास्तविक र देशका लागि बढी योगदान दिने सहिदहरुप्रति अपमान हुने एक थरीको बुझाई छ ।
को हुन सहिद ?
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ।
पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ।
कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको भन्दै विरोध हुने गरेपनि सहिदको स्पष्ट मापदण्ड छैन।
घोषणा गरिएकै सहिदका विषयमा पनि विभिन्न टीकाटिप्पणी हुने गरेका छन्।
सहिद घोषणाका लागि राजनीतिक दलका बीचमा प्रतिस्पर्धा चल्ने गरेको देखिन्छ।
सहिदको परिभाषा स्पष्ट गर्न र सूची तयार पार्न दुई आयोग गठन भएपनि चित्तबुझ्दो काम हुनसकेको छैन।
Discussion about this post