विराटनगर । मोरङको केराबारीमा आगोले जलेर एक जना वृद्धा महिला घाइते भएकी छन् ।
केराबारी गाउँपालिका–१ डाँडा गाउँकी ७९ वर्षीया सन्तमाया लिम्बू घाइते भएकी हुन् । आफ्नै घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा घाइते भएकी सन्तमायालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
प्रहरीका अनुसार आगोले वृद्धाको हात, खुट्टा, अनुहारलगायत शरीरका विभिन्न भाग जलेको छ ।
घरमा सन्तमाया र उनका पति (श्रीमान) शेरबहादुर लिम्बू मात्रै बस्दै आएको खुलेको छ । लिम्बू दम्पती बस्दै आएको घरमा शनिबार साँझ आगलागी भएको थियो ।
काठ प्रयोग गरेर बनाइएको र कर्कट पाताको छानो भएको २ तले घरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । दाहालका अनुसार आगोले घरसहित भान्सा घर, शौचालय, ८ तोला सुन, १० तोल चाँदी, ७ लाख रूपैयाँ नगद, लत्ताकपडा, काठ, अन्नपात सबै जलेर ध्वस्त भएको छ ।
आगलागीमा ३० लाखभन्दा बढीको क्षति भएको जानकारी उनले दिए । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको वरिष्ठ सइ (प्रहरी वरिष्ठ नायव निरीक्षक) केदार सापकोटा नेतृत्वको टोली र स्थानीय बासिन्दाको सहयोगमा साँझ ७ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।
Discussion about this post