विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ रमिते डाँडास्थित एउटा गोठमा आइतबार राति आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
पदमबहादुर खड्काको कर्कट पाताको छानो र इँटाको गारो भएको गोठमा राति ११ः५० बजेतिर आगलागी हुँदा ठूलो क्षति भएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार आगलागीमा परेर गोठ पूर्णरूपमा ध्वस्त भएको छ ।
उनका अनुसार आगोले जलेर ५ वटा खसी मरेका छन् भने गोठभित्र राखिएको ७० मन धान जलेको छ । साथै, घाँस काट्ने मेसिन र पानी तान्ने मोटर समेत जलेको छ ।
आगोले खसी मर्नुका साथै धान, मेसिन र मोटर जल्दा १० लाख रूपैयाँ बराबरको क्षति भएको जानकारी कार्कीले दिए ।
प्रहरीका अनुसार गोठमा आगो लागेको देखेपछि पदमकी बुहारी उमादेवी खड्का बेहोस भएर ढलेकी थिइन् ।
उमादेवीलाई उपचारका लागि सुकुना सामुदायिक अस्पताल विराटचोकमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको अस्पताललाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । प्रहरी र स्थानीय तथा बेलबारी, सुन्दरहरैँचा एवं कानेपोखरीबाट पुगेका दमकलको सहयोगमा लगभग १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।
Discussion about this post