विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकास्थित भुल्के–सुन्तली सामुदायिक वन क्षेत्रबाट गत फागुन ४ गते भरुवा बन्दुकलगायत बरामद भयो ।
लोड गरिएको बन्दुकसहित ३ वटा टर्च लाइट, खुकुरी, गाडीको ब्यारिङ, भरुवा बन्दुकमा लाग्ने अन्दाजी १ सय ग्राम बारुद र २ वटा मोबाइल बरामद भएको थियो ।
कानेपोखरी–६ सीताधापस्थित केशरबहादुर कार्कीको घरनजिकको माचभित्र बन्दुक तथा कार्कीको घरको खाटमा ३ वटा टर्च लाइट, खुकुरी, गाडीको ब्यारिङ र भरुवा बन्दुकमा लाग्ने अन्दाजी १ सय ग्राम बारुद फेला परेको हो ।
घरभित्र चार्ज गरिरहेको अवस्थामा २ वटा मोबाइल पनि फेला परे ।
घरधनी कार्कीले उक्त मोबाइल आफ्नो नभएको बताए । केही व्यक्तिहरु आफ्नो घरभित्र प्रवेश गरेर बसेको स्वीकार गरेपछि उनी त्यतिबेलै पक्राउ परेका थिए । तर, उनी हाजिर जमानीमा छुटेका छन् ।
उनलाई छाड्न प्रहरीले भूमिका खेलेको पाइएको छ । प्रहरीको सिफारिसका आधारमा सरकारी वकिल कार्यालयले हाजिर जमानीमा छाडिदिएको हो ।
घरमा कार्की र उनकी श्रीमती मात्रै बस्ने गरेको पत्ता लागेको छ । बरामद भएको भरुवा बन्दुकसहितका सामान वन्यजन्तुको चोरी सिकारीमा संलग्नले छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोबाइलबाट सिकारी समूह पत्ता लाग्ने अवस्था थियो । तर, हालसम्म पत्ता लगाएर पक्राउ गरिएको छैन ।
प्रहरीले वन्यजन्तुको सिकार गरेको प्रमाण फेला नपरेकाले यस घटनालाई हातहतियार खरखजना मुद्दासँग जोडेर अनुसन्धान अघि बढाएको छ ।
सामुदायिक वन उपभोक्ता समितिको गस्ती टोलीले बन्दुकसहितका सामान फेला पारेर इलाका प्रहरी कार्यालय पथरीलाई बुझाएको थियो ।
समितिका अध्यक्ष भीमराज लिम्बूले गस्ती टोलीलाई देख्नासाथ ४ जना व्यक्तिहरु कार्कीको घरभित्रबाट निस्किएर फरार भएको बताए । घर र वरपर खोजतलास गर्दा वन्यजन्तुको चोरी सिकारीमा प्रयोग गरिँदै आएको बन्दुकसहितका सामान फेला परेको जानकारी उनले दिए ।
उनका अनुसार बन्दुकलगायतका सामान चोरी सिकारी गर्ने समूहकै हो । मोरङमा पछिल्लो समय वन्यजन्तुको चोरी सिकारी बढेको छ ।
पूर्वी–उत्तरका जंगलबाट प्रहरीको मिलेमतोमा वन्यजन्तुको अवैध चोरी सिकारी हुने गरेको आरोप लागेको छ । पहिचान खुलेका सिकारीलाई पक्राउ नगरेपछि प्रहरीको अनुसन्धान एवं कामकारबाही नै विवादमा परेको हो ।
पछिल्ला घटनाले प्रहरीको मिलेमतो रहेको आशंका गर्ने पर्याप्त आधार तयार भएको छ । सिकारी पक्राउ नपर्नु र अनुसन्धान फितलो हुनुले प्रहरीको भूमिका शंकास्पद देखिएको हो । सिकारीलाई प्रहरीले नै सहयोग गरिरहेको आरोपसमेत छ ।
‘वन छेउकै घरमा वन्यजन्तुको चोरी सिकारी गर्नेहरु लुकेर बसेको पाइयो । गस्ती देखेपछि उनीहरु भागे,’ अध्यक्ष लिम्बू भन्छन्, ‘खोजतलास गर्दा बन्दुकसहितका सामान फेला पारेर त्यतिबेलै प्रहरीलाई बुझाइयो । तर, प्रहरीको भूमिका राम्रो देखिएन ।’ उनका अनुसार बरामद भएको मोबाइलका आधारमा चोरी सिकारीमा संलग्नको पहिचान खुल्नुपर्ने हो । तर, अहिलेसम्म पक्राउ नगर्नुले प्रहरीप्रति नै शंका उब्जिएको लिम्बू बताउँछन् ।
घटना भएको १ महिना हुन लाग्दासमेत सिकारीको पहिचान गरेर पक्राउ गर्नुपर्नेमा प्रहरीले चासो नदिएको उनको भनाइ छ ।
प्रहरीले अनुसन्धान गर्दैछौं र खोज्दैछौंभन्ने जवाफ मात्रै दिने गरेको लिम्बूले बताए । भने, ‘घटनाको अनुसन्धान प्रभावकारी देखिएन । न त अहिलेसम्म सिकारी नै पक्राउ परे ।’
उनका अनुसार वन छेउको घरलाई आश्रयस्थल बनाएर वन्यजन्तुको चोरी सिकारी भइरहेको सूचना आउने गरेको थियो ।
बँदेल, मृगलगायतका वन्यजन्तुको सिकार गरेपछि त्यही घरमा मासु बाँडफाँट गर्ने गरेको थाहा भएको अध्यक्ष लिम्बू बताउँछन् । भन्छन्, ‘पछिल्लो समय वन क्षेत्रमा वन्यजन्तुको अवैध चोरी सिकारी गर्ने समूह सक्रिय छ । तर, पक्राउ नपरेका कारण प्रहरीको मिलेमतो हुनसक्ने देखिन्छ ।’ उनका अनुसार प्रहरीकै मिलेमतोमा चोरी सिकारी भइरहेको जनगुनासो व्यापक आइरहेको छ ।
लिम्बूले चोरी सिकारी रोक्नैपर्छ भनेर उपभोक्ता समिति सक्रिय भएपनि प्रहरीलगायतका निकायले सहयोग नगरेको बताए । सिकारी खोज्न आग्रह गर्दा प्रहरीले उल्टै तेल (इन्धन) र खाजा माग्ने उनी बताउँछन् ।
‘बेलैमा सूचना चुहिने गरेका कारण बसेको ठाउँ छाडेर सिकारी भाग्दा रहेछन्,’ उनले भने, ‘मान्छे पक्राउ गर्न जाँदा प्रहरीले नै भगाइदिन्छन् भन्ने सुनिन्छ ।’
उपभोक्ता समितिका अनुसार यस घटनामा सुरुदेखि नै प्रहरीले शंकास्पद भूमिका देखाएको थियो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठ त्यतिबेला बिदामा थिए । इन्सपेक्टर सुशील पाण्डे निमित्तको जिम्मेवारीमा थिए ।
इन्सपेक्टर ब्रह्मदेव साहलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धानमा खटाइएको थियो । साह नेतृत्वको टोलीले फिल्डमै गएर बन्दुकलगायतका सामान बरामद गरेको हो ।
प्रहरीले त्यतिबेला यो कुरालाई सार्वजनिक गर्न चाहेको थिएन । तर, सूचना चुहिएपछि इन्सपेक्टर पाण्डेले केही हैन भनेर टार्ने प्रयास गरेका थिए ।
अहिलेसम्म सिकारी पक्राउ नपरेपछि इन्सपेक्टर पाण्डे र साहको भूमिकामा प्रश्न उठेको छ । उनीहरुमाथि वन्यजन्तुको चोरी सिकारी गर्नेलाई बचाएको आरोप लागेको छ ।
पाण्डेले चोरी सिकारीमा संलग्नमध्ये हालसम्म १ जनाको पहिचान खुलेको उल्लेख गरे । ती व्यक्ति लेटाङका रमेश मगर हुन् । प्रहरी स्रोतका अनुसार बरामद भएकोमध्ये एउटा मोबाइल वन्यजन्तु ‘सुटर’ भनेर चिनिने मगरकै हो । भारततिर भागेकाले उनलाई पक्राउ गर्न नसकिएको जिकिर प्रहरीको छ । ‘व्यापक खोजी गरिरहेका छौं ।
पक्राउ मात्रै गर्न नसकिएको हो । भारततिर भागेको छ भन्ने सुनिन्छ,’ पाण्डेले भने । वन उपभोक्ता समितिका अध्यक्ष लिम्बूका अनुसार २ वटा मोबाइल अलगअलग व्यक्तिको हो भन्ने थाहा भइसकेको छ । तर, अहिलेसम्म १ जनाको मात्रै पहिचान खुल्यो भन्नुले प्रहरीको भूमिका शंकास्पद देखिएको उनले बताए ।
मिलेमतो भएकाले प्रहरीले अरु व्यक्तिका बारेमा खुलाउन नचाहेको आरोप लागेको छ । घटनास्थलबाट ४ जना व्यक्ति भागेको आफूहरुले प्रत्यक्ष देखेको लिम्बू बताउँछन् ।
चोरी सिकारीमा संलग्नलाई प्रत्यक्ष चिन्ने घरधनी यसअघि नै छुट्नुले पनि आशंका गर्ने ठाउँ प्रशस्त रहेको उनले बताए । उनका अनुसार घटनामा १ जनालाई मात्रै संलग्न देखाएर प्रहरीले अरुलाई उन्मुक्ति दिन खोजेजस्तो देखिन्छ । ‘वन्यजन्तुको चोरी सिकारी रोक्नुपर्छ भनेर हामी गस्ती गर्छौं,’ उनले भने, ‘तर, प्रहरीले साथ दिएन ।’
सोधपुछका क्रममा घरधनी कार्कीले आफ्नो घरभित्र बस्ने कसैलाई पनि आफूले नचिन्ने बताएको इन्सपेक्टर पाण्डेको दाबी छ । कार्कीलाई सरकारी वकिलले छाडिदिएको र यसमा प्रहरीको कुनै भूमिका नरहेको जिकिर उनले गरे ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की वन्यजन्तुको चोरी सिकारीमा प्रहरीको मिलेमतो देखिए कारबाही गरिने बताउँछन् । ‘सिकारी समूहको खोजी तीव्र पारिएको छ,’ कार्कीले भने, ‘त्यो समूहसँग प्रहरीको मिलेमतो देखिए कारबाही हुन्छ ।’ वन्यजन्तुको चोरी सिकारी रोक्न प्रहरीले सक्दो सहयोग गर्ने उनले बताए ।
Discussion about this post