लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) कारोबारमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । भारतको जोगवनीबाट नेपालतर्फ खैरो हेरोइन ल्याउन भरियाको प्रयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो ३ः२० बजेतिर विराटनगर–१३ झमेली चोकबाट उनलाई पक्राउ गरेको हो ।
खैरो हेरोइनसहित विराटनगर–१५ का २० वर्षीय नजाम खान पक्राउ परेका थिए । खानतलासी गर्दा खानको साथबाट १ सय २० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।
प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार सोधपुछका क्रममा खानले उक्त लागूऔषध प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट ल्याउन लगाएको बताए । लगत्तै यादवलाई प्रक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको जानकारी उनले दिए ।
खान र यादवविरुद्ध इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान प्रकृया अघि बढाएको छ । लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन दुवै जनाविरुद्ध बुधबार अदालतबाट म्याद थप गरिएको प्रहरीले बताएको छ ।
Discussion about this post