विराटनगर । सुनसरी प्रहरीले लागूऔषधविरुद्ध विशेष ‘अप्रेशन’ चलाएको छ । लागूऔषध नियन्त्रणका लागि बराहक्षेत्रलगायतका स्थानलाई लक्षित गरेर प्रहरी सक्रियता बढाइएको हो ।
लागूऔषधको अवैध ओसारपसार, कारोबार र सेवन रोक्नका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष अभियान चलाएको छ । पछिल्लो समय युवापुस्ता लागूऔषधको दलदलमा फस्दै गएका छन् । समाजलाई लागूऔषधमुक्त बनाउने अभियानमा प्रहरी छ ।
प्रहरी सक्रियतासँगै पछिल्लो समय ठूलो परिमाणमा गाँजालगायतका लागूऔषध बरामद हुने क्रम बढेको छ । बराहक्षेत्रको चक्रघट्टीस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर रामप्रसाद तिमल्सिना नेतृत्वको टोलीले फागुन महिनामा सबैभन्दा धेरै गाँजा बरामद गरेको छ । सबैतिर निगरानी बढाएर सुरक्षा सक्रियता बढाइएसँगै लागूऔषध बरामद हुने क्रम बढेको हो । यसको ओसारपसार र कारोबारमा संलग्न पनि धमाधम पक्राउ परिरहेका छन् ।
कानुनले बर्जित गरेको लागूऔषध नियन्त्रण गर्न अभियान चलाएर प्रभावकारी हिसाबले प्रहरी परिचालन गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । प्रहरीको सक्रियतासँगै धमाधम गाँजालगायतका लागूऔषध बरामद हुन तथा कारोबारी पक्राउ पर्न थालेको र लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय काम गरिरहेको उनको भनाइ छ ।
लागूऔषधसँग सम्बन्धित सूचना भएमा तत्काल प्रहरीलाई उपलब्ध गराउन रेग्मीले सबैमा आग्रह गरेका छन् । सूचना उपलब्ध गराउनेको परिचय गोप्य राखिने उनले बताए ।
बराहक्षेत्र एरियाबाट फागुन महिनाभरि बरामद गरिएको गाँजा प्रहरीले बुधबार नष्ट गरेको छ । इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको अगुवाइमा बराहक्षेत्र नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरनजिक आगो लगाएर ६ सय ७८ किलोग्राम गाँजा नष्ट गरिएको हो । सुनसरी जिल्ला अदालतले अनुमति दिएपछि जलाएर गाँजा नष्ट गर्न प्रहरीलाई बाटो खुलेको थियो ।
एसपी रेग्मीले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, बराहक्षेत्र नगरपालिका तथा बराहक्षेत्र–६ का जनप्रतिनिधि र कर्मचारीको रोहबर एवं उपस्थितिमा गाँजा नष्ट गरिएको बताए । गाँजा नेपाल र सशस्त्र प्रहरीले बरामद गरेका हुन् ।
नष्ट गरिएको गाँजाको मूल्य नेपालमा १ करोड २० लाख रूपैयाँभन्दा बढी पर्ने प्रहरी अधिकारीहरुको भनाइ छ । ठूलो मूल्य बराबरको लागूऔषध गाँजा एम्बुलेन्सलगायतका सवारीसाधनको प्रयोग गरेर तस्करी गर्दै गरेको अवस्थामा बरामद गरिएको जानकारी रेग्मीले दिए ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र–९ राजाबासबाट फागुन १ गते बिहान ४ सय ६ किलो ९ सय ४० ग्राम गाँजा बरामद गरेको थियो । प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको स्कोरपियो गाडीमा राखेर ओसारपसार गर्दै गरेको अवस्थामा इन्सपेक्टर तिमल्सिना नेतृत्वको टोलीले गाँजा बरामद गरेको हो । प्लाष्टिकका १३ वटा बोरामा प्याक गरेर गाडीभित्र राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।
गाँजा ओसारपसारमा संलग्न स्कोपियो चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का २५ वर्षीय सूर्य राई र भोजपुरको हतुवागढी गाउँपालिका–८ घर भइ धरान–१७ मा बस्दै आएका २९ वर्षीय लक्ष्मण वान्तवा राई पक्राउ परेका थिए । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको थियो । उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, एम्बुलेन्समा राखेर लुकाइछिपाइ ओसारपसार गर्दै गरेको २ सय ७१ किलो १ सय ३० ग्राम गाँजा सशस्त्र प्रहरीले बराहक्षेत्र–१ बगुवाको धर्मद्वारबाट फागुन १३ गते बिहान बरामद गरेको थियो । को १ च २०३७ नम्बरको एम्बुलेन्स रोकेर खानतलासी गर्दा प्लाष्टिकको ९ वटा बोरामा प्याक गरेर राखेको अवस्थामा सशस्त्रले गाँजा फेला परेको हो । सशस्त्रले रोक्नसाथ एम्बुलेन्स छाडेर चालक भागेका थिए ।
सशस्त्र प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगायो । गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न ६ जनालाई पछि नेपाल प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामाथि लागूऔषध मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स चालक सुनसरीको धरान–१० का २५ वर्षीय रोहन विशुन्खेसहित गाँजाको अवैध धन्दामा संलग्न धनकुटाको सहिदभूमि गाउँपालिका–२ घर भइ धरान–१३ मा बस्दै आएका ३५ वर्षीय सन्दीप भनिने बाहानसिंह राई, सहिदभूमि–२ घर भइ धरान–१३ मा बस्दै आएका २१ वर्षीय थामकुमार राई, सहिदभूमि–२ घर भइ धरान–१३ मा बस्दै आएका २५ वर्षीय रिजन राई, सहिदभूमि–२ घर भइ धरान–१६ मा बस्दै आएका ३० वर्षीय कुसुमराज राई र भोजपुरको हतुवागढी–९ घर भइ बराहक्षेत्र–६ मा बस्दै आएका ३२ वर्षीय कुमार राईलाई इन्सपेक्टर तिमल्सिना नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
यसैबीच, बराहक्षेत्र–६ पटवारी चोकबाट फागुन २४ गते दिउँसो गाँजासहित ५० वर्षीया कुमारी राईलाई प्रहरीले पक्राउ गर्यो । गाँजा लुकाइछिपाइ राखेर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा राईको घरबाट ७ सय ग्राम गाँजा फेला परेको थियो । राईविरुद्ध लागूऔषध मुद्दा चलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्वी नेपालको धनकुटा, भोजपुर, उदयपुर, खोटाङलगायतका जिल्लामा अवैध गाँजा उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित गाँजाको मुख्य बजार भारत हो । नेपालमा भन्दा दोब्बर बढी मूल्य पर्ने भएकाले ठूलो परिमाणमा गाँजा भारततर्फ तस्करी हुने गरेको सुरक्षा अधिकारी बताउँछन् ।
तस्करीमा संलग्नले सुरक्षाकर्मीको आँखा छल्दै एम्बुलेन्सलगायतका सवारीसाधनको प्रयोग गर्दै विभिन्न बाटोबाट गाँजा भारत कटाउने गरेका हुन् । नेपाल प्रहरीका अधिकारीहरु नेपालमा भन्दा भारतमा गाँजाको मूल्य दोब्बर बढी पर्ने गरेको बताउँछन् । उनीहरुका अनुसार नेपालमा प्रति किलोग्राम १५ हजार रूपैयाँमा पाइने गाँजा भारत कटाइसकेपछि ३० हजार रूपैयाँसम्म पर्ने गरेको छ ।
Discussion about this post