विराटनगर । मोरङमा बंगलादेशी नागरिकसहितको अन्दरदेशीय गिरोहले नौलो खालको ठगी धन्दा चलाइरहेको पाइएको छ ।
सर्वसाधारणलाई निःस्वार्थ पैसा दिएर उनीहरुको नागरिकताको प्रतिलिपि र फोटो लैजाँदै ई–सेवा र खल्तीलगायतका ‘डिजिटल वाल्लेट’ खाता खोलेर अनलाइन माध्यमबाट ठगी गर्ने विदेशी नागरिकसहितको गिरोह सक्रिय देखिएको हो ।
व्यक्तिगत पहिचानको अनधिकृत प्रयोगमार्फत सर्वसाधारणलाई ठग्न खोज्ने संगठित गिरोहका ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
दुई जना बंगलादेशी विदेशी पुरुष र एक जना नेपाली युवतीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार बंगलादेश पल्लाबी ढाकाका ४९ वर्षीय महमद महबुर हुसेन, बंगलादेश सीतागन्ज घर भइ काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानवीर हुसेन र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौंको नयाँ बजारमा बस्दै आएकी २३ वर्षीया सुनीता खत्रीलाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा गैरकानुनी क्रियाकलाप भइरहेको सूचना पाइएको थियो । त्यसका आधारमा इन्सपेक्टर तेजबहादुर दाहालको नेतृत्वमा खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको हो ।
गिरोहमा आवद्ध एक जना बंगलादेशी नागरिक फरार छन् । ती पुरुषको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ । गिरोहमा अरु पनि संलग्न रहेको हुनसक्ने प्रहरीको आशंका छन् ।
प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो पार्दै घटनाका सम्बन्धमा विभिन्न कोणबाट अध्ययन गर्ने काम गरिरहेको जानकारी एसपी कार्कीले दिए ।
प्रहरीका अनुसार सुनसरीलगायतका जिल्लामा पनि केही सर्वसाधारणलाई यसरी नै ठगी गरिएको सूचना प्राप्त भएको छ । तर, यसको आधिकारिक पुष्टि भइसकेको छैन ।
बंगलादेशी नागरिकको गिरोहले नेपाली युवतीको प्रयोग गर्दै सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए ।
उनका अनुसार पक्राउ परेकाहरुले सुन्दरहरैँचा–८ सलकपुरका ३० जनाभन्दा बढी व्यक्तिलाई निःस्वार्थ पैसा वितरण गरेको पाइएको छ ।
आफूहरु परोपकारी संस्था डब्लु बी एस सी कम्पनीबाट आएको भन्दै उनीहरुले प्रलोभनमा पारेर व्यक्ति–व्यक्तिलाई निःस्वार्थ पैसा बाँडेको पाइएको एसपी कार्कीले बताए ।
उनका अनुसार सलकपुरमा ३० जनाभन्दा बढी व्यक्तिलाई पैसा वितरण गरेको देखिन्छ । एक जनालाई १ हजारदेखि १ हजार ५ रूपैयाँसम्म उपलब्ध गराइएको उनको भनाइ छ ।
‘रकम उपलब्ध गराएपछि सर्वसाधारणको फोटो र नागरिकताको प्रतिलिपि लैजाने गरेको खुलेको छ,’ कार्कीले भने, ‘व्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र प्राप्त गरी त्यसको दुरूपयोग गर्दै अनधिकृत रूपमा ठग्न खोजेको देखिन्छ ।’
सर्वसाधारणको फोटो र नागरिकताको प्रतिलिपि लगेर अनधिकृत हिसाबले ई–सेवा र खल्तीलगायतका ‘डिजिटल वाल्लेट’ खाता खोलेर अनलाइन माध्यमबाट ठगी गर्न खोजेको पत्ता लागेको छ ।
त्यत्तिकै पैसा पाएपछि सर्वसाधारणले पनि सहज हिसाबले आफ्नो फोटो र नागरिकताको प्रतिलिपि उपलब्ध गराएको पाइएको छ ।
पैसो वितरण गर्न थालेसँगै शंका लागेर केही व्यक्तिहरुले कम्पनीको आधिकारिकता खोजेका थिए । त्यसपछि पैसा वितरण गर्ने गिरोह हच्किएर त्यहाँबाट फरार भएको एसपी कार्की बताउँछन् । स्थानीयले नै दिएको सूचनाका आधारमा गिरोहका नाइकेसहितलाई प्रहरीले पक्राउ गरेको हो ।
‘गरिब, दुःखी र असहायलाई आर्थिक सहयोग गर्न आएका हौं’ भनेर पैसा बाँड्न थालिएपछि विश्वासमा परेका सर्वसाधारणले सहज हिसाबले फोटो तथा नागरिकताको प्रतिलिपि दिएको र त्यसको दुरुपयोग गर्दै गिरोहले गैरकानुनी ढंगबाट ‘डिजिटल वाल्लेट’ खाता खोल्ने गरेको पाइएको जानकारी कार्कीले दिए ।
व्यक्तिगत पहिचानको अनधिकृत प्रयोग गरेर खोलिएको ‘डिजिटल वाल्लेट’ खातामार्फत ठगीको प्रयास गरिएको उनको भनाइ छ ।
उनका अनुसार खत्रीलाई मंगलबार सुन्दरहरैँचा–८ बाट पक्राउ गरिएको हो । त्यहाँबाट फरार बनेका ३ जना बंगलादेशी नागरिकमध्ये २ जनालाई भने प्रहरीले सुन्दरहरैँचा–४ बलियाबाट पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेकाको साथबाट एनसेलका १५ वटा सिमकार्ड, सुनीता खत्री र तानवीर मिया दर्जीको नाममा रहेका २ वटा राहदानी, तानवीर मिया दर्जी नामको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली ५ हजार १ सय ५० रूपैयाँ, २ वटा एटीएम कार्ड र विभिन्न कम्पनीका ४ वटा मोबाइल बरामद गरेको छ । तानवीर बंगलादेशी नागरिक हुन् ।
काठमाडौंमा बसेर केही समयदेखि गार्मेन्टको काम गर्दै आएका उनले कसरी तानवीर मिया दर्जीको नाममा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे भन्ने खुल्न बाँकी छ । यस विषयमा पनि प्रहरीले अनुसन्धान गर्ने भएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले ठगी उद्योगअन्तर्गतको मुद्दा चलाउने भएको छ । अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी कार्कीले दिए ।
उनका अनुसार सर्वसाधारणको नाममा ‘डिजिटल वाल्लेट’ खाता खोलेर अनलाइनमार्फत ठगी गर्ने उदेश्य गिरोहको देखिएको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।
Discussion about this post