बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले रेलवे प्रभावितहरुको मुआब्जाको समस्या हल गर्न पहल थाल्ने बताउनुभएको छ ।
यो संगै उहाँले चिया क्षेत्रमा देखिएको समस्या, मेची प्रादेशिक अस्पतालको सेवा सुधार लगायतका जिल्लाका मुख्य समस्यामा आफू केन्द्रीत रहेर काम गर्ने बताउनुभयो ।
आज झापाको बिर्तामोडमा आयोजित बोल्दै प्रजिअ पोखरेलले सरकार, नागरिक समाज र निजी क्षेत्रको समन्वय राम्रो भएमा सुशासनको अवस्था मजबुत बताउनुभयो । उहाँले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
संवाद समूह झापाको संयोजनमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जिल्ला प्रशासनको सूचना संयन्त्रमा सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउँदै लागूऔषध, मिटरब्याजी, वैदेशिक रोजगारीमा हुने ठगी लगायतका विषयमा समेत केन्द्रीत रहेर काम गर्ने धारणा राख्नुभयो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईंले जिल्लामा नागरिक समाज र सञ्चार क्षेत्रसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।
त्यसैक्रममा संवाद समूहका सदस्यहरु राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, जसपा झापाकी उपाध्यक्ष संगीता रौनियार, रेडक्रस झापाका सभापति लोकराज ढकाल, एबीसी नेपालकी जिल्ला अध्यक्ष कञ्चना ढकाल लगायतले जिल्लामा संवाद समूहले गरिरहेको काम, अभ्यास र संवाद संस्कृतिको बारेमा आ आफ्नो धारना राख्नुभयो ।
पत्रकारहरु दिपीन राई, सावित्रा दाहाल, मुक्ति पौडेल, इन्द्रसिंह राजवंशी, लीला अनमोल, विनोद पाण्डे लगायतले विभिन्न सुझाव राख्नुभयो । प्रजिअ पोखरेलसहित झापामा विभागीय जिम्मेवारी सम्हाल्न भर्खरै आएका सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत सम्मानसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
Discussion about this post