इटहरी उपमहानगरपालिका र नगर विकास कोषबिच इटहरीमा आधुनिक बसपार्क बनाउने सम्झौता भएको छ ।
आज इटहरी उपमहानगरपालिकामा १६ करोड २२ लाख बराबरको बसपार्क बनाउने विषयमा सम्झौता भएको हो । इटहरी वडा नम्बर ९ मा बन्ने आधुनिक बसपार्क आगामी २ वर्ष भित्रमा सम्पन्न गर्ने गरी काम अघि बढाइने छ ।
नगरविकास कोषको ७० प्रतिशत अर्थात् ११ करोड ३५ लाख ५२ हजार ५ सय र बाँकी ३० प्रतिशत अर्थात् ४ करोड ८६ लाख इटहरी उपमहानगरले खर्च गर्ने गरी सम्झौता भएको हो । इटहरी उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको पहिलो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय,सभाहल,रेष्टुरेण्ड सहितको हुने छ ।
५० वटा बस अट्ने क्षमताको हुने बसपार्कमा पार्किङ सानो ठुलो छुट्टै हुने छ । ढल व्यवस्थापन र डे«न सहितको सुविधा हुने छ ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले इटहरीमा लगानी गर्न पाएको अत्यन्त खुसी भएको प्रतिक्रिया दिए । उनले यस अघिका जनप्रतिनिधिले चासो नगरेका कारण अहिलेको जनप्रतिनिधिले काम गरेर देखाउने प्रतिबद्धता गरेसगैं कोषले लगानी गरेको बताए । साथै केही समयमा खानेपानीको आयोजनाका लागि डेढ दुई अर्बको योजनाको काम अघि बढ्न सक्ने बताए । यसका लागि स्थानीय सरकारले सक्रियता देखाए त्यो योजना पनि सुरु हुने उल्लेख गरे ।
यस्तै इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बढ्दो सहरीकरणले अस्तब्यस्त भएको बसपार्क यो योजना पुरा भए समस्या समाधान हुने बताए । उनले वडा नम्बर नौं का वडा अध्यक्ष जितेन्द्र थापाको सक्रियताले योजना बनाउने कार्य सफल भएको भन्दै थापाप्रति धन्यवाद समेत ज्ञापन गरे ।
Discussion about this post