झापा । झापाको बिर्तामोडमा शास्त्रीय संगीतमा आधारित वसन्तोत्सव कार्यक्रम हुँदैछ । बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले चैत्र ५ गते सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रममा नेपाली संगीतको प्रख्यात व्याण्ड सुकर्मका साथै अन्य कलाकारहरुको सांगीतिक प्रस्तुति रहने सप्तक संगीत विद्यालयका सञ्चालक तथा प्रशिक्षक सरोज वत्सले जानकारी दिए । भजन गायक धर्मदास बुढाथोकीको विशेष भजन गायनसमेत रहने उनले बताए ।
सोही अवसरमा गायिका मेनुका पौडेल तथा सप्तक संगीत विद्यालयका विद्यार्थी एवम् कलाकारहरुद्वारा गाइएका गीतहरुको अडियो भिडियो रिलिज गरिने उनले जानकारी दिए । मारवाडी भाषाका कवि सत्यनारायण तायलद्वारा लिखित मारवाडी भाषाको पहिलो राष्ट्र गीतको रिलिज गर्ने र सप्तक संगीत विद्यालयद्वारा बालबालिकासंग सप्तक कार्यक्रम अन्तर्गत आयोजित १५ दिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमसमेत सोही अवसरमा गरिने विद्यालयकी संगीत प्रशिक्षक संजीवनी पौडेलले जानकारी दिइन् ।
कार्यक्रममा सप्तक संगीत विद्यालयमा संगीत सिकेर विभिन्न सांगीतिक प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरु साथै विद्यालयका केही विशिष्ट अभिभावकहरुलाई सम्मान गरिने विद्यालयका संरक्षक डा. कुमार सुवेदीले बताए ।
सुकर्म ब्याण्डका संस्थापक एवम् त्रिभुवन विश्व विद्यालय संगीत विभाग अध्यक्ष वरिष्ठ सितार वादक प्रोफेसर डा. ध्रुवेश चन्द्र रेग्मीलाई समेत सम्मान गरिने सुवेदीले जानकारी दिए ।
कार्यक्रम चैत्र ५ गते सोमवार २ः३० बजेदेखि सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुने आयोजकले जानकारी दिएको छ ।
सप्तक संगीत विद्यालय शास्त्रीय संगीतमा भारतीय विश्व विद्यालयबाट स्नातकोत्तर गरेका सरोज वत्सद्वारा सञ्चालित विद्यालय हो ।
Discussion about this post