विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्याका आरोपी युवक होटेलमा मृत फेला परेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सिराहाको फुल्का कट्टी घर भएका २३ वर्षीय शिवशङ्कर दास विराटनगर–४ स्थित होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनी मृत फेला परेको होटेल नोबेल अस्पतालबाट नजिकै पूर्वतर्फ पर्छ ।
शिवशङ्कर फाइन होटेल एन्ड लजको १०२ नम्बर कोठाभित्र पङ्खामा प्लास्टिकको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको कार्कीले बताए । कोठाको चुक्कुल भित्रबाट लगाएर झुन्डिएको अवस्थामा उनलाई आइतबार राति ९ः४५ बजेतिर मृत फेला पारिएको हो ।
शिवशङ्करले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । एसपी कार्कीका अनुसार शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगेर थप अनुसन्धान अघि बढाइएको छ । शिवशङ्करले आइतबार बिहान ११ बजेतिर होटेलको कोठा बुक गरेको उनले बताए ।
नोबेल अस्पतालको हाड जोर्नी विभागमा कार्यरत स्टाफ नर्स चन्द्रिकाको हत्या भएको अवस्थामा गत शुक्रवार शव फेला परेको थियो । सिराहाको फुल्का कट्टी घर भएकी उनी अस्पतालनजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको हो ।
शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएका थिए । भान्सा कोठामा प्रयोग हुने कटर र चुलेसीले घाँटी काटेर चन्द्रिकाको हत्या गरिएको प्रहरीले जनाएको छ । कटर र चुलेसी प्रहरीले बरामद गरेको छ । उनको हत्या बिहीबार नै भएको प्रहरीको भनाइ छ ।
एसपी कार्कीका अनुसार चन्द्रिकाको हत्या गरेको खुलेपछि शिवशङ्करको खोजी भइरहेको थियो । उनी फरार थिए । खोजी जारी रहेकै बेला मृत फेला परेको कार्कीले बताए । प्रहरीका अनुसार शिवशङ्कर र चन्द्रिका ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । प्रेम सम्बन्धमा दरार उत्पन्न भएपछि हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।
शिवशङ्कर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । प्रहरीका अनुसार यता चन्द्रिका सिराहा नै घर भएका अमिन धानुकसँग प्रेम सम्बन्धमा थिइन् । अमिन सीएमए हुन् । सुरुमा उनले नै चन्द्रिकाको हत्या गरेको आशङ्का प्रहरीको थियो । तर, अनुसन्धान गर्दै जाँदा हत्यामा शिवशङ्करको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
शिवशङ्कर फागुन २७ गते मलेसियाबाट नेपाल आएको पत्ता लागेको एसपी कार्की बताउँछन् । फागुन २९ गते विराटनगर आएर प्रेमिका चन्द्रिकाकै कोठामा बसेको जानकारी उनले दिए । ‘प्रेममा धोका दिने भएकाले चन्द्रिकाको हत्या गरेको हो जस्तो छ,’ कार्की भन्छन्, ‘शिवशङ्करले म पनि आत्महत्या गर्छु भनेर आफ्नी दिदीलाई आइतबार दिउँसो फोन गरेको भन्ने कुरा आएको छ ।’
हत्यापछि शिवशङ्कर २ दिनसम्म कता गए भन्ने बारेमा खुलिसकेको छैन । प्रहरीले उनको मोबाइल ट्र्याक गर्दा आइतबार विराटनगरको कन्चनबारी आसपासमा लोकेसन देखाएको थियो । त्यसपछि ‘फलो’ गर्दै प्रहरी फाइन होटेलको कोठामा पुग्दा भित्रबाट चुक्कुल लगाएर ढोका बन्द गरिएको थियो ।
ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा शव फेला पारिएको जानकारी कार्कीले दिए । प्रहरीका अनुसार होटेल र चन्द्रिकाको डेराको दुरी लगभग ३ सय मिटर छ ।
Discussion about this post