इलाम / यस वर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार विक्रम सुन्दास (तिलविक्रम दर्जी) लाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासङ्घ इलाम शाखाले हरेक वर्ष मेची क्षेत्रका उदीयमान पत्रकारलाई प्रदान गर्ने यो पुरस्कार सुन्दासलाई प्रदान गर्ने निर्णय भएको हो ।
सुन्दास फिक्कलबाट सञ्चालित रेडियो बुद्धवाणी एफएमका समाचार प्रमुख हुन् ।
महासङ्घको स्थापना दिवसमा प्रदान गरिने क्रियाशील पत्रकार महिला पुरस्कार रिता राराहाङलाई प्रदान गर्ने निर्णय पनि गरेको छ । राराहाङ इन्डिजिनियस टेलिभिजन र सप्तकोसी एफएममा कार्यरत छिन् ।
रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैशाख १ गते इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो ।
सन्दकपुर गाउँपालिकाको सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरूले ‘आशिष् स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ ।
युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।
Discussion about this post