काठमाडौँ / व्यवसायी दुर्गा प्रसाईंले राखेको स्वचालित हतियारबारे छानबिन गर्न सरकारले समिति बनाएको छ। प्रसाईंले लाइसेन्स लिएर राखेको स्वचालित हतियारबारे छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले समिति बनाएको हो।
समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन्। अन्य सदस्यहरुमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन्।
गत चैत ५ गते दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र १०० राउण्ड गोलीसहित पक्राउ गरेको थियो। लाइसेन्स लिएर हतियारको बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै पक्राउ परेका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चैत १३ मा उनीहरुलाई थुनामुक्त गर्न आदेश दिँदै लाइसेन्स लिएर समेत राख्न नमिल्ने स्वचालित हतियार कसरी प्रसाईंले लाइसेन्स प्राप्त गरे भन्नेबारे छानबिन गर्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो। समितिले छानबिनको लागि १५ दिनको समय प्राप्त गरेको छ।
Discussion about this post