इलाम / नेपालले विदेशी राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जोड दिएका छन् । इलाममा भएको इलाम साहित्य महोत्सवलाई सम्बोधन गर्दै उनले एकता मजबुत राख्नुपर्ने बताए ।
तथ्यपूर्ण ढङ्गले विदेशीसँग सम्बन्ध राख्नु पर्ने बताउँदै उहाँले सबैतिरको पुँजी र सीप नेपाल भित्र्याएर देश बलियो बनाउनुपर्ने उनको भनाई छ । नेपाल जस्तो सानो मुलुक समृद्ध हुन नसक्नु आफैँमा दुखद रहेको बताउँदै उनले आर्थिक विकासमा नेपाल विश्वमा निकै तल रहेको बताए ।
धेर नझुकौँ अनि धेर नभुकौँ उनले भने । सन्तुलित विदेश नीतिले मात्र देश समृद्ध हुन सक्ने उनको भनाई छ ।
कुनै बेला दुई ढुङ्गा बिचको तरुल भन्ने भनाइलाई अन्त्य गर्दै अब दुई देश बिचको पुल हुन सक्नु पर्ने उनको धारणा छ ।
देश पहिचान र अधिकारका आधारमा सङ्घीयतामा गएको भन्दै सङ्घीयता बचाउन सबै लाग्नु पर्ने उनको भनाई छ ।
कृषि प्रधान देश भएर पनि यहाँ भारतसँग खुल्ला सीमा भएका कारण केही समस्या आएका उनको तर्क छ । खुल्ला सीमा भएका कारण भारतको उत्पादन नेपाल भित्रिने भन्दै उपभोक्ताले सस्तो खोज्ने गरेकाले नेपालको उत्पादनले मूल्य नपाएको उनी बताउँछन् ।
उत्पादन बढेपछि मूल्य घट्ने नीति रहेको भन्दै उनले उत्पादनसँगै गुणस्तरीय उत्पादनमा समेत जोड दिनुपर्ने धारणा राखे ।
भारत र चिन जस्ता ठुलो अर्थतन्त्र भएका राष्ट्रसँग समन्वय गरेर लगानी भित्र्याउनु पर्ने उनको भनाई छ । ठुला उद्योग स्थापना र पर्यटक भित्र्याएर रोजगारीको सृजना गर्नु पर्ने उनको भनाई छ ।
कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गरे । कार्यक्रममा नेपाल र भारतका साहित्यकार, राजनीतिकर्मी तथा लेखक र विश्लेषकको सहभागिता रहेको छ ।
कार्यक्रम इलाम सदरमुकाम स्थित गौतम बुद्ध सभा हलमा भइरहेको छ आज सुरु भएको कार्यक्रम भोली समापन हुने छ । इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजना र इलाम साहित्य समाजको संयोजनमा कार्यक्रम जारी छ ।
Discussion about this post