दमक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गन्धर्व जातिको पहिचान संरक्षण गर्दै उनीहरूको विकास गरिने बताएका छन् ।
कार्कीले गन्धर्वहरूको मौलिक संस्कृति र पहिचान लोपोन्मुख अवस्थामा पुग्न लागेको भन्दै यसको संरक्षणको दायित्व प्रदेश सरकारले लिने प्रतिबद्धता पनि व्यक्त गरे।
झापाको कचनकबल गाउँपालिका–२ स्थित गन्धर्व बस्ती पुगेका मुख्यमन्त्रीले सोमबार यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्कीले भने , “कोशी प्रदेश सरकार सबैको पहिचानलाई सम्मान गर्छ र पहिचानको संरक्षणमा प्रतिबद्ध छ ।”
सो अवसरमा गन्धर्वहरूले आफ्ना पीडा मुख्यमन्त्री कार्कीलाई सुनाएका थिए ।
मुख्यमन्त्री कार्कीले सामाजिक विभेद अन्त्य गर्न सबैको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीयको समस्या र दैनिकी बुझ्न आफैँ गन्धर्व बस्तीमा खाना खाने र बस्ने गरी आएको स्पष्ट पारे । कार्की सोमबार शिव गन्धर्वको घरमा खाना खाएर बास बसेका हुन् ।
कचनकबल गाविस–२ मा पर्ने सुकुनाडिगी र आदर्श टोलमा ४८ परिवार गन्धर्व बसोबास गर्ने गरेका छन् । तीमध्ये अधिकांश परिवारको पेट पाल्ने माध्यम सारङ्गी बजाउनु रहेको छ ।
दिनभर झापाका विभिन्न चोकबजार गएर सारङ्गी बजाई श्रोताले खुसीले दिएको पैसाबाट उनीहरूले पेट पाल्दै आएका छन् ।
मुख्यमन्त्री कार्कीले मङ्गलबार बिहान गन्धर्व बस्तीबाट फर्कंदा हुलाकी मार्ग तथा आसपासका विभिन्न विकास योजना तथा झापाको कनकाई खोलामा वर्षौंदेखि अलपत्र निर्माणाधीन कनकाई पुलको स्थलगत निरीक्षण पनि गरे।
कार्कीलाई गौरीगन्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले कनकाईमा पुल नबन्दा भएका कठिनाइका विषयमा जानकारी गराएकी थिइन् ।
Discussion about this post