धरान । धरान तरहरा सडक निर्माण सुरु भएको तीन वर्षपछि एकतर्फी खुल्ने भएको छ ।
प्यासिफिक कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको तरहरा धरान सडकको एकतर्फी दुई लेन सडकको कालोपत्रे हुन अव ५ सय मिटर मात्रै बाँकी छ । अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ ।
उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला हुने भएपछि यातायात व्यवसायी मजदुर तथा आम उपभोक्तहरुलाई केही राहत हुने भएको छ ।
२०८० सालको असारसम्म काम सम्पन्न गर्ने गरी २०७७ सालबाट सुरु भएको सडक निर्माणमा लामो समयदेखि नियमित काम नहुँदा इटहरीबाट धरान हुँदै पहाडी जिल्लाका विभिन्न क्षेत्रमा यात्रा गर्नेहरूले कष्ट भोग्नु परेको थियो ।
विराटनगरको रानी धरान ६ लेनको सडक अन्तरगतको तरहरा धरानको करिब १० किमी सडकमा २५ सय मिटर बाँकी थियो ।
एकातर्फको बाँकी रहेको दुई किमी सडक मङ्गलवार पुरा भएको र बाँकी ५ सय मिटरको कालो पत्र चैतभित्र सम्पन्न हुने कन्स्ट्रक्सनका सिनियर ल्याव टेक्निसियन अनिल देवकोटाले जानकारी दिए ।
एकातर्फ सडक पिच भए पछि आज साँझदेखि नै सवारी आवत जावत गर्ने देवकोटाले बताए । वर्षौँदेखि सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलोचना खेपिरहेका थिए ।
मङ्गलवार सुनसरी क्षेत्र नं. १(२)का प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत विजय राई, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीम ज्वाला राई, धरान उपमहानगर सह इञ्चार्ज टिका माङ्ले, जिल्ला सचिवालय सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगरपालिका २ नं वडाध्यक्ष रमेश राई, १८ नं वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठ लगायतको टोलीले सडकको अनुगमन गरेका छन् ।
एकातर्फको दुई लेनको कालो पत्रे पुरा भई सडक खुले पनि ठुलो राहत भएको मजदुर नेता भीम ज्वाला राईले बताए ।
राईका अनुसार सडक बन्न ढिलाइ हुँदा यस सडक खण्डमा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ भने १४१ जना घाइते भएका छन् ।
२०८० असारसम्ममा सबै सडक निर्माण सकिने गरी काम भइरहेको डिभिजन प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले जानकारी दिए । यो सडक २०७६ सालमा सरकारसँग ठेक्का सम्झौता भएको थियो ।
Discussion about this post