विराटनगर । भोजपुरमा एक जना व्यक्तिको हत्या गरेर १२ वर्षदेखि भागिरहेका अभियुक्त झापाको काँकडभिट्टामा फेला परेका छन् ।
काँकडभिट्टामा भेटिएका भोजपुरको अरुण गाउँपालिका–४ ९साबिकको चरम्बी गाविस–३० का ३० वर्षीय सौरभ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
चामल चोरी गरेको आरोप लगाएको भन्दै एक जनाको हत्या गरेर उनी लामो समयदेखि फरार बनेका थिए । १२ वर्षअघि घटना गराएर फरार बनेका उनलाई काँकडभिट्टामा फेला पारेर पक्राउ गरिएको भोजपुर प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठकले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट परिचालित टोलीले पक्राउ गरेर तामाङलाई बुधवार भोजपुर पुर्याएको हो । तामाङलाई कर्तव्य ज्यान मुद्दामा भोजपुर अदालतले यसअघि नै दोषी ठहर गरिसकेको छ ।
प्रहरीले पक्राउ गरेर पेस गरेपछि उनलाई कैद सजाय भुक्तानका लागि अदालतले बिहीबार कारागार चलान गरेको छ ।
प्रहरीका अनुसार भोजपुरको साबिकको चरम्बी–३ का सीताराम राईको २०६८ साल माघ ७ गते हत्या भएको थियो । राईले आफ्नो घरबाट राखेको चामल तामाङसमेतका ३ जना व्यक्तिले चोरी गरेको भनेर आरोप लगाएका थिए । त्यसपछि दुई पक्षबिच विवाद उत्पन्न भयो ।
दुई पक्षीय विवाद मिलाउन भनेर गाउँमा पञ्चेती बोलाइएको थियो । गाउँमा बोलाइएको छलफलमा सहभागी नभएको र आफूहरूलाई चामल चोरेको आरोप लगाएको भनेर तामाङसहित ३ जनाले खुकुरी, लट्ठी र डुङ्गाले आक्रमण गरेर राईको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
रिसईबी साँधेर बसेका उनीहरूले घरकै आँगनमा चोया काढेर बसिरहेका राईको हत्या गरेका हुन् । ३ जनाले एकै पटक आक्रमण गरेपछि राईको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै अभियुक्तहरू फरार बनेका थिए । डिएसपी पाठकका अनुसार फरार रहेकाको अनुसन्धान एवं खोजतलासका क्रममा घटनामा संलग्नमध्ये तामाङलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । भोजपुर अदालतले घटनामा संलग्न सबैलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरिसकेको छ ।
प्रहरीले अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो । मुद्दाको फैसला गर्दै अदालतले २०७७ साल फागुन २३ गते अभियुक्तहरूलाई जन्मकैदको सजाय सुनाएको हो । तर, अभियुक्तहरू सजाय भुक्तान नागरिकन भागिरहेका थिए । फरार रहेकामध्ये अन्य २ जनाको खोजी तीव्र पारिएको डिएसपी पाठक बताउँछन् ।
उनका अनुसार हाल पक्राउ परेका तामाङ घटनापछि केही समय तराईका विभिन्न स्थानमा लुकिछिपी बसेको खुलेको छ । त्यसपछि भागेर भारत गएका थिए । भारतमा ५र६ वर्ष बिताएर नेपाल फर्किएको उनले बताए ।
नेपाल आएर झापाको काँकडभिट्टामा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला फेला पारेर तामाङलाई पक्राउ गरेको पाठक बताउँछन् ।
Discussion about this post